देशका लागि केही गरौँ भन्नेहरू एक भएका छौँ : प्रधानमन्त्री दाहाल

देशका लागि केही गरौँ भन्नेहरू एक भएका छौँ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ ले कम्युनिष्ट केन्द्र बनाएर अघि बढ्नुपर्ने बेला आएको बताउनुभएको छ । बधाई दिन खुमलटारस्थित निवास पुगेका पार्टीका नेता,कार्यकर्तासँग माओवादी केन्द्रको अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले कम्युनिष्ट केन्द्र बनाएर अघि बढ्ने धारणा राख्नुभएको बताइएको छ । 

आज बिहान बधाई दिन खुमलटार पुगेका माओवादी केन्द्रका पोलिटब्युरो सदस्य टेकबहादुर बलम्पाकीका अनुसार प्रधानमन्त्रीले सबै कम्युनिष्ट पार्टी र समूह सम्मिलित कम्युनिष्ट केन्द्र बनाएर अघि बढ्ने बेला आएको धारणा राख्नुभएको हो । 

एक अर्काे प्रसङ्गमा प्रधानमन्त्रीले एक पटक सबै मिलेर देशको निम्ति केही गर्नैपर्ने समय आएको बताउँदै मुलुुक बनाउने अवसरबाट कोही पनि चुक्न नहुने धारणा पनि राख्नुभएको छ । उहाँको भनाइ छ, ‘मुलुकको समृद्धि र विकासको निम्ति सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने बेला आएको छ । यसका लागि सिर्जनात्मक योजना मार्फत् सबै दलसँग छलफल गरेर अघि बढ्न म तयार छु ।’ 

नयाँ गठबन्धनबारे प्रष्ट पार्दै उहाँले कार्यकर्तालाई आफूसँगको सहमतिअनुसार काँग्रेस अघि नबढेकाले एमालेसँग सहमति गर्नुपरेको जानकारी दिनुभयो । ‘देशका लागि केही गरौँ भन्नेहरू एक भएका छौँ, यो राम्रै हो,’ उहाँले उल्लेख गर्नुभयो ।

टिप्पणीहरू