गृहमन्त्रीको पदबारे अर्को साता फैसला

गृहमन्त्रीको पदबारे अर्को साता फैसला

गृहमन्त्री रवि लामिछानेको सांसदको योग्यताबारे २२ पुसमा सुनुवाइ हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई सांसदको शपथ लिन रोक लगाउनुपर्ने मागसहित परेको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई तोकिएको छ । 

अधिवक्ता रविराज बसौलालगायतले दायर गरेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा यसअघि ६ पुसमा सुनुवाइ भएको थियो । त्यसबेला अदालतले अन्तरिम आदेश दिनु नपर्ने निर्णय गरेको थियो । मंगलबार आएको आदेशको प्रमाणित कपीमा २२ पुसमा सुनुवाइ हुने उल्लेख छ ।

कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत हुनुहुन्छ । २२ पुसमा हुने सुनुवाइपछि अदालतले फैसला सुनाउने छ ।

अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भएको नेपाली नागरिकता प्रयोग गरेको भन्दै गृहमन्त्री लामिछानेको पार्टी सभापति पदसमेत खारेजीको माग गरिएको छ । 

लामिछानेले अमेरिकी राहदानी हुँदाहुँदै नेपालको पनि राहदानी बनाएको पाइएको छ । उनको नागरिकताको विषयमा प्रहरीले नै अनुसन्धान गरिरहेको छ । तर, आफ्नो नागरिकता र राहदानीका विषयमा मुद्दा परे पनि ‘कफ्लिक्ट अफ इन्ट्रेस्ट’ हुने गरी उनी हिजोदेखि गृहमन्त्री बनेका छन् ।

टिप्पणीहरू