निर्वाचनमा हराउने काँग्रेसीलाई कारवाही गर्न पार्टी सभापतिलाई पत्र
नेपाली काँग्रेस, कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका अभिषेकप्रताप साहले एक दर्जन काँग्रेसी नेतामाथि कारबाहीको माग गर्दै पार्टी सभापति शेरबहादुर देउवालाई पत्र लेखेका छन् ।
उनले गत आमनिर्वाचनमा आफूलाई हराउन सहयोग गरेका १२ जना नेता तथा कार्यकर्तालाई कारबाहीको माग गरेका हुन् । साहले जिल्ला सभापति अब्दुल कलाम, उपसभापति हुमाकान्त खनाल, सचिव प्रेमबहादुर रायमाझी, क्षेत्रीय सभापति ब्रम्हानन्द उपाध्याय, कार्यसमिति सदस्य हरिप्रसाद पोखरेल, जिल्ला प्रवक्ता ईश्वरी पाण्डेयमाथि विभिन्न आरोप लगाउँदै कारबाही गर्नुपर्ने लिखित माग गरेका छन् ।
त्यस्तै, प्रदेशसभा सदस्य उम्मेदवार वीरेन्द्रकुमार कनौडिया, शिवराज नगर सभापति मधु पोखरेल, जिल्ला कार्यसमिति सदस्य केसरीकुमार चौहान, वडाध्यक्ष रामेश्वर बर्मा, क्षेत्रीय सचिव राजेश उपाध्याय र मुक्तेश्वर मिश्राको नाम पनि उनको पत्रमा उल्लेख छ ।
पार्टीको विधान, नीति, सिद्धान्त र हितविपरीतका कार्यमा प्रत्यक्ष संलग्न रहेर आफ्नो उम्मेदवारी विपरीतका कार्य गर्ने, आफूलाई हराउने र विपक्षीलाई जिताउने कार्य उनीहरुबाट भएको साहको आरोप छ ।
उनले तत्काल कारबाही प्रक्रिया अगाडि बढाउन र गुटबन्दीको नाममा अन्तर्घात गर्नेहरुलाई आगामी दिनमा निरुत्साहित गर्न आग्रह गरेका छन् ।
गत निर्वाचनमा साह नेकपा एमालेका नेता मंगलप्रसाद गुप्तासँग पराजित भएका हुन । गुप्ताले २० हजार ८५२ मत ल्याउँदा उनले १७ हजार ७८८ मत प्राप्त गरेका थिए ।
टिप्पणीहरू