यौटा अर्को चुनाव पनि आउनै लाग्यो
संघ,प्रदेश र स्थानीय तहको चुनाव सफलतापूर्वक सम्पन्न गरेको निर्वाचन आयोग थप दुई वटा चुनावको तयारीमा जुटेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको छ भने राष्ट्रियसभाको उपनिर्वाचन पनि छिट्टै हुँदैछ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको पदावधि सकिनुभन्दा एक महिनाअघि नै निर्वाचनको मिति तोक्नुपर्ने प्रावधान छ । हालका राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल फागुनसम्म बाँकी छ । त्यसअघि नै आयोगले नयाँ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने तयारी गरेको हो ।
संविधानमा राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग र समुदायबाट चुनिनुपर्ने व्यवस्था रहेकाले अलग-अलग मितिमा चुनाव हुनेछ । पहिले राष्ट्रपति छानेर त्यसपछि उपराष्ट्रपतिको चुनाव हुने बताइएको छ । आयोगले निर्वाचनको मिति तोकेपछि सरकारले सोको व्यवस्था मिलाउने छ ।
यता,राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त भएको एक सिटमा उपचुनाव गराउने तयारी छ । एमाले सांसद भट्टराईले मङ्सिर ४ को निर्वाचनमा प्रतिनिधिसभाको टिकट पाएपछि राष्ट्रिय सभाबाट राजीनामा दिएका थिए । तर,एमालेको आन्तरिक राजनीति नमिलेका कारण उनको टिकट खोसिएको थियो ।
टिप्पणीहरू