चिसोसँगै राजधानी अत्यधिक प्रदुषित, सम्बन्धित निकाय मौन

चिसोसँगै राजधानी अत्यधिक प्रदुषित, सम्बन्धित निकाय मौन

हिँउद लागेसँगै मुलुकका विभिन्न भागमा प्रदुषण बढेको छ । संघीय राजधानीसहित केही जिल्लामा पछिल्लो केही दिनयता बढेको प्रदुषणले अधिकांशलाई स्वास्थ्य सास्ती बढाएको छ । यसले विशेषगरी आँखा चिलाउने र श्वास प्रश्वासमा समस्या देखिन थालेको छ । प्रदूषणका कारण प्रायःलाई रुघाखोकीले सताएको चिकित्सकहरुको भनाइ छ । 

प्रदूषणका कारण राजधानीमा धेरैको आँखा पोल्ने गरेको छ । यसले बालबालिकाको स्वास्थ्यमा समेत प्रतिकूल असर पार्ने स्वास्थ्यविद्हरु बताउँछन् । त्यसैगरी मुटु र फोक्सोमा समेत हानी पुर्याउँछ  । एयर क्वालिटी इन्डेक्स (एक्युआई) तुल्सीपुर, चितवन, भक्तपुर, काठमाडौं र वीरेन्द्रनगरको हावामा सबैभन्दा धेरै पाइएको छ ।

हावा नचलेको र पानी नपरेकाले प्रदुषणले सीमा नाघ्न थालेको हो । यसले जीवजन्तु, बोटविरुवा, पशुपन्छीमा समेत असर पार्न थालेको छ । विगत केही समयदेखि हिँउदयाम शुरु भएसँगै प्रदूषणको मात्रा पनि बढ्दै जाने गरेको छ । यो अवस्था राजधानीमा सबैभन्दा धेरै देखिन्छ । इँटाभट्टा, थोत्रा र पूराना सवारी साधन एवम् डँढेलो वायु प्रदूषणका प्रमुख कारण हुन् । 

पछिल्लो समय उपत्यकामा अव्यवस्थित घनाबस्ती बढेको छ । जथाभावी घर बनाउँदा हरियाली डाँडाकाँडा मासिँदै गएको छ । यसबाट वायु प्रदूषण बढाउने कार्यमा बल मिलेको हो । त्यस्तै, इँट्टाभट्टाले पनि अत्याधिक प्रदूषण गराएका छन् । बाक्लिँदै गएको बस्तीबीच इँट्टाभट्टा सञ्चालन गरिँदा स्वच्छ हावाको अभाव भएको हो ।

इँटाभट्टाबाट निकै ठूलो मुस्लोमा धुँवा फैलने गरेको छ । सोही कारण इँट्टाभट्टा उपत्यकाभित्र सञ्चालन गर्न दिन नहुने अवस्था भइसकेको विज्ञहरुको भनाइ छ । इँटाभट्टाबाट निस्केको धुँवा र धुलोले मानव स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको छ । यसले खेतीयोग्य जमिन, अन्नबाली र बोटविरुवामा समेत असर पारेको छ । 

धुवाँधुलोका कारण राजधानी वरपरका क्षेत्रमा बालीनाली उत्पादनमा कमी आएको छ । पहिले तरकारी खेतीबाट वर्षेनी लाखौं कमाउँदै आएका किसानहरु सोही जग्गामा इँट्टाभट्टाका कारण उत्पादन नभएपछि वार्षिक १५ देखि २५ हजारमा प्रतिरोपनी भाडामा लगाउन बाध्य भएका छन् । 

यता, खेती नभए पनि इँट्टाभट्टाका कारण साँझ परेपछि धुवाँले स्वासप्रश्वासमा गाह्रो हुने गरेको राजधानीबासीको गुनासो छ । एक पटक इँट्टाभट्टा सञ्चालन गरेपछि उक्त खेतीयोग्य जमिन मरुभूमि सरह हुने गरेको छ । इँट्टाभट्टा वरपरका बासिन्दालाई घरबाहिर निस्कनसमेत गाह्रो पर्ने गरेको बताइन्छ । 

उनीहरुले त्यस्ता भट्टाहरु बस्तीभन्दा टाढा सार्न माग गर्दै आएका छन् । राजधानीका सडकमा गुड्ने थोत्रा सार्वजनिक सवारी साधनले पनि उत्तिकै प्रदूषण फाल्ने गरेका छन् । सरकारले २० वर्षे थोत्रा सवारी साधन विस्थापन गर्ने निर्णय गरेको धेरै भइसकेको छ । तर, पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन ।

वन तथा वातावरण विभागले काठमाडौं उपत्यकामा वायु प्रदूषणको मुख्य कारण गाडीले फ्याँक्ने धुवाँ रहेको बताएको छ । विभागले यसअघि सूचना जारी गर्दै धेरै धुवाँ फाल्ने सवारी साधनलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको थियो । यता सार्वजनिक यातायात र सरकारी निकायका पुराना गाडीले पनि धुवाँको मुस्लो प्रयाँक्दा वातावरण प्रदूषणमा सहयोग पुगेको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकामा प्रदूषण जाँच नगरेका गाडीलाई कारबाहीसहित ठूलो रकम जरिवाना गर्ने विभागले जनाएको छ । विभागले प्रदूषण चेकजाँच गराएर मात्रै गाडी चलाउन आग्रह गरेको छ । तर, उक्त सूचना पनि सूचनामा सीमित भएको अवस्था छ । सवारी साधन धनीहरुले उक्त विषयप्रति खासै ध्यान दिएको देखिँदैन ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले उपत्यकामा प्रदूषण बढ्नुको प्रमुख कारणमध्ये गाडीबाट निस्किने धुँवा एक भएको बताए । यातायात व्यवस्था विभाग, वातावरण विभाग र उपत्यका ट्राफिक कार्यालयको समन्वयमा कालो धुवाँको मुस्लो फाल्ने गाडीलाई कारबाही गरिरहेको उनको दाबी छ । 

‘हामीले निरन्तर त्यस्ता धुवाँको मुस्लो फाल्ने गाडीलाई कारबाही गरी जरिवाना गर्ने गरेका छौँ’, उनले भने । वातावरण विभागले विभिन्न स्थानमा गाडीको प्रदूषण चेकजाँच गरी अत्यधिक धुँवा फाल्ने गाडीलाई मर्मतका लागि पठाउने गरेको बताएको छ । साथै, सडकमा गुडिरहेका २० वर्ष पूराना सवारी साधनलाई समेत कारबाही गरिरहेको उनले सुनाए । 

यता, काठमाडौं महानगरपालिकाले पनि राजधानीमा फोहोर जलाउन निषेध गरेको छ । फोहोर जलाउँदा वायु प्रदूषण अत्यधिक हुने महानगरको भनाइ छ । खुला रुपमा आगो बाल्ने तथा फोहोर जलाउने गतिविधिले वायु प्रदूषण बढ्ने तथा जनस्वास्थ्यमा पनि असर गर्ने महानगरको ठहर छ । तर, राजधानीका मुख्य गरेर सरकारी कार्यालय र निकायका परिरसरभित्रै फोहोर जलाउने गरेको पाइन्छ ।

 महानगर क्षेत्रभित्र खुल्ला स्थानमा दाउरा बालेमा वा फोहोर जलाइएमा कारबाही गरिने चेतावनीसमेत दिइएको छ । तर, जाडो बढेसँगै आगो ताप्न घर घरमा दाउरा बाल्न थालिएको छ । यसबाट पनि प्रदूषण थप बढेको बताइन्छ ।

टिप्पणीहरू