प्रधानमन्त्रीसँग भन्दा निवर्तमानसँग भेटघाट गर्ने धेरै

प्रधानमन्त्रीसँग भन्दा निवर्तमानसँग भेटघाट गर्ने धेरै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज बिहान विभिन्न समूहले भेट गरेको छ । विशेषगरी उहाँलाई बधाई र शुभकामना दिन आउनेको भीड ललितपुरको खुमलटारस्थित निवासमा बिहानैदेखि देखिएको हो ।

बिहान सबेरै उहाँसँग नेतृ कल्पना धमला र प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले भेट गर्नुभएको हो । प्रधानमन्त्रीसँग उहाँहरुले बिहान साढे ७ बजेदेखि ४५ मीनेट बढी कुराकानी गर्नुभएको थियो ।त्यसपछि बिहान साढे ९ बजको समयमा प्रधानमन्त्री दाहालसँग उहाँकै निवासमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाललगायतको टोलीले भेटेर बधाई तथा शुभकामना व्यक्त गरेको हो ।

उता बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा पनि बिहान नवनियुक्त मन्त्रीहरुले सामूहिक भेट गरेका थिए । अध्यक्ष ओलीलसँग पार्टीको तर्फबाट नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, विना विभागीय मन्त्रीहरु दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्रकुमार राइले बिहान झण्डै आधा घण्टा कुराकानी गर्नुभएको बताइएको छ ।

यता बालुवाटारस्थित प्रधानमन्त्री निवासमा निवर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग अछामको निर्वाचन क्षेत्र नम्बर १ का प्रदेशसभा सदस्य तथा नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री मेघराज खड्काले बिहान साढे ९ बजेको समयमा भेटघाट गरेका हुन् । 

त्यसपछि उहाँसँग बाजुरा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य बद्रीप्रसाद पान्डेले मुश्किलले १५ मीनेट कुराकानी गर्नुभएको थियो । पाण्डे निस्केपछि बालुवाटार स्थित प्रधानमन्त्री निवासमा निवर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा देउवासँग नेता प्रकाशशरण महतले केहीबेर कुराकानी गर्नुभएको हो । 

आजै मध्यान्ह भारतीय राजदूत नवीन श्रीवास्तव पनि देउवालाई भेट्न बालुवाटार जानुभएको थियो ।

टिप्पणीहरू