एमाले-समाजवादी अध्यक्ष-उपाध्यक्षवीच वार्ता जारी
नेपाली काँग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन टुटेपछि राजनीतिक रुपमा एक्लिएको नेकपा एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा सामेल गराउने पहल शुरु भएको छ । समाजवादीलाई गठबन्धनमा मिलाएर सरकारमा सहभागी गराउने तयारीका साथ एमाले र माओवादी केन्द्रका नेताहरुले छलफल थालेका हुन् ।
एमाले र माओवादीभित्र वाम एकताको पक्षमा वकालत गर्दै आएका नेताहरुले समाजवादीका अध्यक्ष माधव नेपाललगायतका नेताहरुसँग निरन्तर संवाद गरिरहेका छन् । त्यही सिलसिलामा अध्यक्ष नेपाल र अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबीच केहीबेर अघि भेटवार्ता शुरु भएको छ । नेपालका सम्धी सोमप्रसाद पाण्डेको निवासमा अहिले वार्ता चलिरहेको स्रोतले बताएको छ ।
आज दिउँसो पनि वामपन्थी एकताको पहल गरिरहेका वामदेव गौतमले अध्यक्ष नेपाललाई भेटेर प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।
एकीकृत समाजवादी तत्कालीन पाँच दलीय गठबन्धनको महत्वपूर्ण शक्ति थियो । तर,उक्त गठबन्धनबाट छुट्टिएर माओवादी एमालेसँग सहकार्य गर्न पुगेपछि उत्पन्न परिस्थितिमा समाजवादी एक्लिन पुग्यो । अकस्मात विकसित भएको यो घटनाक्रमलाई समाजवादीले कांग्रेस र माओवादीबाट आफूलाई धोका भएको भनेको छ ।
तर,एमाले अध्यक्ष केपी ओलीसंगको तिक्ततापूर्ण सम्बन्धका कारण अस्ति बालकोट वार्तामा छुट्नुभएका अध्यक्ष नेपाललाई मनाएर समाजवादीलाई एमाले-माओवादी गठबन्धनमा सहभागी गराउन वाम खेमाका नेताहरु सक्रिय भएको बताइएको छ ।
टिप्पणीहरू