बालकोटको बार्दलीबाट हात हल्लाइकोमा सूर्य थापाको आपत्ति
एमाले सांसद सूर्य थापाले अस्ति आइतबार दिउँसो अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटको बार्दलीबाट ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हात हल्लाएको विषयमा आपत्ति जनाएका छन् । उनले दुई वर्षअघि पार्टी विभाजन भएको र यसबीचमा हात हल्लाएपछि पहिलेका सबै विषय ‘फच्चे’ भएको अर्थ लागेकाले आफूले उक्त कुरोलाई पार्टी बैठकमा उठाउने बताएका हुन् ।
आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ३० दिनभित्र पुष्पकमल दाहालले विश्वासको मत लिने,त्यसमा आफूले समेत मत दिने उनको भनाइ छ । बालकोटले धेरैलाई बदलेको र अहिले दाहाललाई पनि बालकोटले नै बदलेको उनको दाबी छ । तर, सरकारमा गठबन्धन कायम भए पनि माओवादीसँग पुनः पार्टी एकता नहुने उनको ठहर छ ।
सोही कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले प्रचण्डलाई चिन्न नसक्नु नै आफ्नो पार्टी नेताको कमजोरी भएको बताएका छन् । दुई वर्षअघि फुटेको एमालेसँग पुनः माओवादी मिल्न जाने भन्ने सन्दर्भ कल्पनाभन्दा बाहिरको रहेको उनको भनाइ थियो । उनले भने,‘नयाँ गठबन्धन सत्ताको निम्ति भएको छ । यो धेरै दिन टिक्दैन ।’
त्यसैगरी माओवादी केन्द्रीय सदस्य दिनानाथ शर्माले २१ औं शताब्दीमा लोकतान्त्रिक व्यवस्थाअन्तर्गत राजनीतिक पार्टीहरु फुट्ने र जुट्ने अवस्थालाई सबैले सहज रुपमा लिनुपर्ने धारणा राखेका थिए । उनको भनाइ थियो, ‘अहिलेको संसदीय प्रणालीमा कुनै पनि राजनीतिक दलको बहुमत नआउने भएकाले उनीहरु मिल्नुको विकल्प छैन ।’
टिप्पणीहरू