अङ्गरक्षक झिक्ने यस्तो छ ४८ घण्टे उर्दी

अङ्गरक्षक झिक्ने यस्तो छ ४८ घण्टे उर्दी

गृह मन्त्रालयले हिजो बिहान कार्यालय खुल्ने बित्तिक्कै ४८ घण्टे निर्देशन र विज्ञप्ति जारी गर्यो तोकिएको कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मी र सुरक्षा जनशक्तिलाई तत्काल फिर्ता हुन  ताकेतासहित । 

नयाँ मन्त्रीको पद बहालीपछि सोमबार रातिको निर्देशनमा टेकेर मन्त्रालयले हिजो बिहान उक्त निर्देशन र विज्ञप्ति जारी गरेको बताइन्छ । पहिले शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बल मुख्यालयलाई बिहानै पत्र लेखेको थियो ।

शाखा अधिकृत दिनेश न्यौपानेले लेखेको पत्रमा तोकिएको कार्यविधिमा उल्लेखित पदाधिकारीहरुले कार्यविधि विपरीत सेवा सुविधालगायत व्यक्तिगत सुरक्षाकर्मी,सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न भनिएको छ । 

उक्त निर्देशन हिजो बिहानको मन्त्रीस्तरीय निर्णयबाट भएको र  मन्त्रालयले सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलको नाममा विज्ञप्ति जारी गर्दै सोही व्यहोरा जानकारी गराएको थियो । लगत्तै दुवै प्रहरी संगठनले मातहतका कार्यालयमा उक्त पत्रको व्यहोरा उल्लेख गरेर आजसम्ममा त्यस्ता जनशक्ति खटाइएको भए फिर्ता गर्न भनेको छ ।

नेपाल प्रहरीले दिएको जानकारीमा हालसम्म कार्यविधिबमोजिम खटाइएका प्रहरी र जनशक्तिको संख्या ६ सय ६१ छ । उता सशस्त्र प्रहरी बलले पनि आफ्नो तर्फबाट ४ सय ५ जनालाई खटाइएको जानकारी दिएको छ ।

टिप्पणीहरू