पूर्वराजा ज्ञानेन्द्र सिमराबाट सोझै चितवन,पूर्व रानी बिरामी
पुस ८ गते जनकपुर पुग्नुभएका पूर्वराजा ज्ञानेन्द्र शाह आज सिमराबाट चितवन जाने कार्यक्रम छ । हिजो दिउँसो सिमरामा राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेनसँग आकस्मिक भेट गरेपछि शाह आज चितवन जाने कार्यक्रम तय भएको हो ।
लिंगदेन हिजो बिहान १० बजे उता गएर अपरान्ह ४ बजे राजधानी फर्केका थिए । पुस ८ र ९ गते जनकपुर बसेपछि शाह १० गते सडक मार्गबाट सिमरा आएर प्रभु निवासमा बस्नुभएको छ ।पूर्वरानी कोमल शाह भने बिरामी हुनुहुन्छ । सिमराबाट आज चितवन आउने पूर्वराजा कहाँ बस्ने भन्ने टुंगो लागिसकेको छैन । चितवनका केही राजावादीले शाह दियालो बंगलामा ‘राज’ हुने भन्दै प्रचार गरेका छन् । तर त्यो अहिले नेपाल सरकारको जिम्मामा छ ।
ज्ञानेन्द्र जनकपुर पुग्दा भव्य स्वागत गरिएको थियो । ‘राजा आऊ देश बचाऊ’ भन्दै नेपाल राष्ट्रवाद संघका अध्यक्ष जनकलाल शाहको अगुवाईमा जनकपुरमा स्वागत गरिएको हो । सिमरामा भने शाहको स्वागतमा झण्डै तीन सयको उपस्थिति थियो । जनकपुरमा झण्डै तीन हजार जनाले रातो कार्पेट बिच्छाएर भव्य स्वागत गरेका थिए ।
यता छोरा पारस भने केही दिनदेखि काठमाडौंमा देखिएका छन् । पोखरा बस्दै आएका उनी काठमाडौंमा रहँदा विशालनगर नजिकैको अपार्टमेण्टमा बस्ने गरेको स्रोतको दाबी छ । उनी पुस ६ गते पोखराबाट राजधानी आएका थिए ।
टिप्पणीहरू