समाजवादीसङ्ग मिलेर एमाले सबैभन्दा ठूलो पार्टी बन्ने सम्भावना

समाजवादीसङ्ग मिलेर एमाले सबैभन्दा ठूलो पार्टी बन्ने सम्भावना

एमाले परित्याग गर्नुभएका नेता घनश्याम भुसालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नुभएको छ । उहाँ प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना दिन बिहानै खुमलटार जानुभएको थियो  ।शुभचिन्तकहरुको भीडका बीच पनि उहाँहरुबीच संक्षिप्त कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले अरुहरुसँग झैँ भुसालसँग पनि नयाँ परिस्थितिमा गठन भएको सरकारलाई आवश्यक सहयोग जुटाउन आग्रह गर्नुभएको छ ।

सोही सन्दर्भमा प्रधानमन्त्रीले भन्नुभयो, ‘सरकार गठनबारे देउवासँग लामो कुरा कुराकानी भएको थियो । उनले निर्वाचनपछि समेत पहिलो कार्यकालको नेतृत्व माओवादी केन्द्रले गर्ने वचनबद्धता जनाएका थिए । तर काँग्रेसले अन्तिम क्षणमा आएर धोका दियो । बोलेको कुरा फेरेपछि नयाँ अवस्थाको सिर्जना भयो ।’

यसअघि नेपाली काँग्रेसले २०७२ सालमा संविधान जारी भइसकेको अवस्थामा पनि सत्ता हस्तान्तरणमा यस्तै किचलो निकालेको थियो । त्यतिबेलाका प्रधानमन्त्री सुशील कोइरालालाई पनि विदेशीहरुले कुनै हालतमा सत्ता एमालेलाई हस्तान्तरण गर्न नहुने अडानमा टेकाएका थिए ।

"काँग्रेसका एक जना सांसद निलम्बित भएको अवस्थामा अब उसको सांसद संख्या ८८ कायम भएको छ । एमालेको ७९ मा माधव नेपालका १० सांसद थपिँदा ८९ भएर लार्जेस्ट पार्टी हुने पक्षलाई पनि बिर्सन नहुने  विश्लेषकहरुले अर्थ्याएका छन् ।"

यता,भुसालसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले समाजवादी क्रान्ति र आन्दोलनलाई कसरी अघि बढाउने भन्ने विषयमा थप चिन्तन र मनन गर्ने बेला आएको धारणा राख्नुभएको बताइन्छ । उहाँले एमाले र अध्यक्ष केपी शर्मा ओलीबारे केही उल्लेख नगरे पनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भने बसेर कुरा गर्ने बताउनुभएको थियो । नभन्दै आज बिहान नेपालसँग प्रधानमन्त्रीको भेटघाट भएको छ । 

हिजो राति एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेको घरमा पनि अध्यक्ष नेपाल र एमाले उपाध्यक्ष तथा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलबीच भेटघाट भएको छ । प्रधानमन्त्री दाहाल एकीकृत समाजवादीलाई सरकारमा सामेल गराउनुपर्ने पक्षमा देखिनुभएको छ । ​​​​​​

अर्कोतर्फ सत्ता घटक सात दलको निरन्तरतालाई ध्यान दिँदै एमालेले पनि एकीकृत समाजवादीसँग पार्टी एकताको पहल गर्नुलाई अन्यथा लिन नमिल्ने एक जना नेताले बताए । रवि लामिछाने,राप्रपा र रेशम चौधरीको पार्टीको भर नभएकाले सरकारको बहुमत संख्यामा जुनसुकै समयमा समस्या उत्पन्न हुनसक्ने अवस्था एकातिर छ । अर्कोतिर एकीकृत समाजवादीसँगको एकतापछि एमाले ठूलो पार्टी बन्ने सम्भावना प्रष्ट देखिएको छ । काँग्रेसका एक जना सांसद निलम्बित भएको अवस्थामा अब उसको सांसद संख्या ८८ कायम भएको छ । एमालेको ७९ मा माधव नेपालका १० सांसद थपिँदा ८९ भएर लार्जेस्ट पार्टी हुने पक्षलाई पनि बिर्सन नहुने  विश्लेषकहरुले अर्थ्याएका छन् ।

टिप्पणीहरू