ललितपुरमा प्रचण्ड भेटेर कोटेश्वर पुग्यो नेताहरुको टोली, प्रचण्ड भेट्न ओली खुमलटारमा
नयाँ राजनीतिक ध्रुवीकरणसँगै वाम खेमाका नेताहरुको राजनीतिक भेटघाट बाक्लिएको छ । काँग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन तोडिएर बनेको नयाँ गठबन्धनमा सबै वामपन्थी पार्टीहरुलाई सामेल गराउन एमाले, माओवादी र एकीकृत समाजवादीका नेताहरुले विभिन्न पक्षीय भेटघाट र छलफललाई तीब्रता दिएका हुन् ।
यसैबीच ललितपुरको हात्तिवनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग लामो छलफल सकाएर माओवादी केन्द्रका नेताहरुको एक टोली कोटेश्वरस्थित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको निवास पुगेको छ । टोलीमा जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ, उपप्रधानमन्त्री तथा माओवादीका नेता नारायणकाजी श्रेष्ठलगायतका नेताहरु छन् । उनीहरुले अध्यक्ष नेपालसँग अहिले भेटवार्ता गरिरहेका छन् ।
यता, प्रधानमन्त्री प्रचण्ड भेट्न एमाले अध्यक्ष केपी ओली खुमलटार पुग्नुभएको छ । हिजो साँझ अध्यक्ष नेपाल र अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबीच नेपालका सम्धी सोमप्रसाद पाण्डेको निवासमा लामो संवाद भएको थियो । त्यसअघि दिउँसो वामपन्थी एकताको पहल गरिरहनुभएका वामदेव गौतमले नेपाललाई भेटेर प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन आग्रह गर्नुभएको थियो ।
आजै अध्यक्षद्वय ओली र नेपालबीच भेटवार्ता गराउने तयारीका साथ नेताहरु भेटवार्तामा जुटेको बताइएको छ ।
टिप्पणीहरू