काँग्रेसले अन्तर्घातीको नाम पठाउने समयावधि लम्ब्यायो

काँग्रेसले अन्तर्घातीको नाम पठाउने समयावधि लम्ब्यायो

आमनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध अन्तर्घात गर्ने नेता–कार्यकर्ताको नाम लेखि पठाउन नेपाली काँग्रेसले समयावधि थप गरेको छ । आगामी शुक्रबारसम्म तोकिएको समयावधि बढाएर काँग्रेसको केन्द्रीय अनुशासन समितिले माघ १५ तोकेको छ । 

समिति सचिव प्रेम केसीले प्रदेश एवम् जिल्ला अनुशासन समितिमा परेका उजुरीहरु विधिवत् निर्णय गरेर केन्द्रमा पठाउन निर्देशन दिएका छन् । पार्टीलाई असहयोग गरेको सम्बन्धमा परेका उजुरीहरुमाथि निर्णय गरेर थपिएको समयावधिभित्र केन्द्रमा लेखि पठाउन उनले मातहतका समितिलाई निर्देशन दिएका हुन् । अनुशासन समिति गठन नभएको जिल्लामा तत्काल गठन गरेर कारबाही प्रक्रिया अघि बढाउनुपर्ने जारी विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा भनिएको छ,‘अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी निर्णयसहित २०७९ पुस १५ गतेभित्र पठाउनुहुन पर्ने भनि प्रदेश तथा जिल्ला कार्यसमितिलाई पत्राचार गरिएकोमा सो म्याद थप गर्नुपर्ने भनी सिफारिस प्राप्त हुन आएकोले उक्त समयावधि २०७९ माघ १५ गतेसम्मका लागि बढाइएको जानकारी गराइन्छ ।’

टिप्पणीहरू