निवर्तमान प्रधानमन्त्रीको गाउँका धेरै जनाको आँखामा समस्या
डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले निःशुल्क आँखा शिविर आयोजना गरेको छ । कैलपालमाण्डौ स्वास्थ्य चौकीमा आयोजित आँखा शिविरबाट ३०७ जना स्थानीय लाभान्वित भएका छन् ।
वडा नम्बर ४ र ५ को आर्थिक सहयोग तथा नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल र जिल्लाको आँखा अस्पतालको प्राविधिक सहयोगमा हिजो एक दिनका लागि निःशुल्क आँखा शिविर आयोजना गरिएको जनाइएको छ । कमजोर आर्थिक अवस्था र उपचार गर्न असमर्थ स्थानीयबासीलाई गाउँमै उपचार दिलाउन शिविर आयोजना गरिएको गाउँपालिकाले बताएको छ ।
गाउँपालिकाकी उपाध्यक्ष ज्ञानुकुमारी सेटीका अनुसार वडाद्वारा आयोजित उक्त शिविरबाट ३०७ जना लाभान्वित भएका छन् । शिविरबाट वडा नम्बर ३, ४ र ५ का ३०७ जना स्थानीयबासिन्दा लाभान्वित हुँदा ६० जनाको आँखामा समस्या देखिएकाले उनीहरुको उपचार खर्च गाउँपालिकाले व्यर्होने भएको छ ।
वडाद्वारा सञ्चालित निःशुल्क आँखा शिविरबाट धेरै स्थानीयबासीमा सहयोग पुर्याएको हुँदा आँखा उपचारका लागि चाँडै गाउँपालिकाभित्र शल्यक्रियासहित शिविर आयोजना गरिने पनि उनले जानकारी गराइन् । यसबाट आर्थिक कमजोर भएका लक्षित समुदाय र ज्येष्ठ नागरिक एवम् असहायका लागि सहयोग पुग्ने उनको ठम्याई छ ।
टिप्पणीहरू