माओवादी सांसदलाई सचिवको अचम्मको निर्देशन
‘म पनि मन्त्री भएको थिएँ एक पटक । त्यो पनि सञ्चारमन्त्री । तर मेरोबारेमा कसैले कतै केही कुनै आलोचना गर्नुपरेन । कुनै अनलाइन, पत्रिकामा मेरा विरुद्ध समाचार छापिएन । मन्त्री पद खुस्किएको दिन मैले त बनझाँक्रीले लगेको मान्छे फुत्केर आउन सफल भएको जस्तो अनुभूति गरेँ । यसैले खबरदार तपाईंहरुलाई पनि बनझाँक्रीहरुले सँधैका लागि मन्त्र फुकेर लैजालान् ?’
हिजो विराटनगरको तीनपैनीस्थित प्रदेश पार्टी कार्यालयमा माओवादीका केन्द्रीय सचिव तथा १ नम्बर प्रदेश इञ्चार्ज राम कार्की (पार्थ) यसैगरि बोलेका हुन् । पार्टी प्रदेश १ समितिले प्रदेशबाट संघ र प्रदेश सभामा निर्वाचित सांसदहरुका लागि बधाई कार्यक्रम आयोजना गरेको थियो ।
संघका चार जना र प्रदेशका १३ जना सांसदलाई सचिव कार्कीसहित पोलिटब्युरो सदस्य सावित्रीकुमार काफ्ले (समर), प्रदेश १ अध्यक्ष मिक्सोलगायतले अबीर र खादा लगाउँदै प्रमाणपत्र दिएर सम्मान गरेका थिए । स्वागत तथा बधाई कार्यक्रमपछि सचिव कार्कीले नवनिर्वाचित सांसदहरुलाई पहिलो बैठकबाट प्रदेश सभा र सरकारबाट आममजदुर र किसानको पक्षमा आवाज उठाउन तथा निर्णय गर्न निर्देशन दिएका थिए ।
उनले सांसदहरुलाई भने, ‘अब तपाईंहरु कोही मन्त्री बन्नुहोला, कोही समितिको सभापति पनि हुनुहोला तर होशियार वनझाँक्रीहरुको मन्त्रमा फस्नुभयो भने तपाईंहरु फर्कन सक्नुहुन्न ।’ उनले वनझाँक्रीहरु वर्तमान अवस्थामा चाकरीबाज कर्मचारी र विभिन्न कर्पोरेट स्वार्थसमूहहरु रहेको अथ्र्याएका थिए ।
राजनीतिमा सत्ताको अवसर सँधै नआउने भएकाले आफनो वर्ग र समुदायको पक्षमा काम गरेर अनुकरणीय बन्न निर्वाचित सांसदहरुलाई निर्देशित गरेका हुन् । सचिव कार्कीले २०६४ मा माओवादीलाई जनताले अत्यधिक बहुमत दिए पनि आफनै कारणले माओवादी खुम्चँदै गएकाले अब निर्वाचित मन्त्री र सांसदहरुले राम्रो काम गरेर पार्टीलाई २०६४ कै अस्वस्थामा ल्याउनुपर्नेमा जोड दिएका थिए ।
‘अवसर सँधै आउँदैन यसैले अहंकार त्यागेर पाएको अवसर सदुपयोग गर्नुहोला अनि मात्र राजनीति सुधार्न सकिन्छ,’ उनले भने । प्रदेश १ का इञ्चार्ज समेत रहेका कार्कीले चक्रीय प्रणालीमा शासन पद्धती चलेकाले प्रदेश १ मा मुख्यमन्त्री माओवादी केन्द्रले पाउनुपर्ने दाबीसमेत गरेका छन् ।
पार्टी अध्यक्ष बालुवाटार पुगेर फर्किएपछि पनि कसैले फोन नगरी सहकार्यको ढोकामा चुकुल लगाइदिएकाले बाध्य भएर अर्को सम्भावनाको ढोका खोलिएको उनको भनाइ छ । सरकारमा गएपछि विपक्षीलाई पनि रचनात्मक सहयोग गर्न उनको आग्रह छ ।
चुनावताका गाउँमा घुमेको, खाएको, सुतेको कुरा नबिर्सन पनि विजयी सांसदहरुलाई कार्कीले अनुरोध गरेका छन् । माओवादीको तर्फबाट प्रदेश १ मा संघमा प्रत्यक्षबाट तीन जना र समानुपातिकबाट एक जना विजयी भएका छन् ।
प्रदेशमा प्रत्यक्षबाट नौ र समानुपातिकबाट चार जना सांसद निर्वाचित भएका छन । प्रदेश १ सभामा सबै विजयी ९३ जना सांसदले पुस ११ गते सपथग्रहण गरिसकेका छन । आगामी आइतबार प्रदेश सभाको पहिलो बैठक दिउँसो १ बजे डाकिएको छ ।
-आषिका लम्साल
टिप्पणीहरू