बालहठ नदेखाउन बालकोट बोलाएर सम्झाइ बुझाइ

बालहठ नदेखाउन बालकोट बोलाएर सम्झाइ बुझाइ

क्याबिनेटको पहिलो बैठकमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग 'टसल' परेपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले 'तातो रिस नगर्न' सल्लाह दिनुभएको छ । हिजो बेलुका बालकोटमा भएको भेटवार्तामा ओलीले सुझबुझपूर्ण ढंगले काम गरी आफ्नो स्वीकार्यता बढाउन सुझाव दिनुभएको हो । 

हिजो साँझ प्रधानमन्त्रीको निजी निवास खुमलटारमा भेटवार्ता सकेर लामिछाने त्यहाँबाट सीधै बालकोट पुगेका थिए । बालकोटको बोलावटमा बेलुका ८ बजे पुगेका लामिछानेलाई अध्यक्ष ओलीले कर्मचारीलाई विश्वासमा लिएर आलोचित नहुने गरी काम गर्न सल्लाह दिएको बताइएको छ ।      

'म पनि गृहमन्त्री भैसकेको मान्छे हो, त्यहाँ तपाईंको उमेर जति त जागिर खाइसकेका कर्मचारी हुन्छन् ।  उनीहरुलाई धेरै कुरा थाहा हुन्छ । त्यसैले सबै कुरा बुझेर मात्र काम गर्नुहोला', ओलीको भनाई उधृत गर्दै बालकोट स्रोतले भन्यो । सो क्रममा ओलीले मन्त्री पद अस्थायी हुने भएकाले संयन्त्रमा विश्वास गर्न पनि सुझाउनु भएको थियो । 

'म पनि गृहमन्त्री भैसकेको मान्छे हो, त्यहाँ तपाईंको उमेर जति त जागिर खाइसकेका कर्मचारी हुन्छन् ।  उनीहरुलाई धेरै कुरा थाहा हुन्छ । त्यसैले सबै कुरा बुझेर मात्र काम गर्नुहोला',

लामिछानेले क्याबिनेटको पहिलो बैठकमै प्रधानमन्त्रीको निर्देशन अटेर गरी सरकारको प्रवक्ताको जिम्मेवारी अस्वीकार गरेका र क्याबिनेटमा प्रतिपक्षी भूमिका निभाउने अभिव्यक्ति दिएका कारण आलोचित छन् । मन्त्रीले प्रधानमन्त्रीप्रति उत्तरदायी हुनैपर्ने क्याबिनेट सिष्टममा प्रतिपक्षी बेञ्च हुँदैन भन्ने सामान्य कुरासमेत नबुझेकाले उनको अभिव्यक्ति विवादमा परेको हो । यहि विषयमा सम्झाइदिन प्रधानमन्त्री प्रचण्डले आग्रह गरेपछि ओलीले लामिछानेलाई बालकोट बोलाएको बुझिएको छ । 

सत्ता गठबन्धनलाई अहिले रवि लामिछाने 'माया बैगुनी नभै नहुने' भनेजस्तो भएको छ । किनभने उनी नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदको निर्णायक शक्ति हो । संसदमा २० सीट रहेको सो पार्टीको समर्थन गठबन्धनलाई अपरिहार्य छ । किनभने सात दल र स्वतन्त्रसहित १६९ जनाले सरकारलाई समर्थन दिए पनि १४ सीटको राप्रपा सरकारमा सहभागी छैन । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्ग्देनलाई हिजो सिमरा बोलाएर पूर्वराजा ज्ञानेन्द्रले सरकारमा नजान सुझाएकाले राप्रपाको समर्थन कहिलेसम्म हो निश्चित छैन । 

१२ सीट रहेको जसपा र चार जना सांसद रहेको नागरिक उन्मुक्ति पार्टी सरकारमा सामेल भएका छैनन् । सरकारमा नजानु भनेको जतिबेला पनि समर्थन फिर्ता लिनसक्ने अवस्था हो । त्यसकारण जसपाबाहेक अन्य साना पार्टीहरु कुनै पनि बेला भड्किन सक्ने  बालकोट र खुमलटारको आकलन छ । सत्ता समीकरणको यो तथ्य बुझेका लामिछानेले गठबन्धनमा बार्गेनिङ्ग पावर बढाएर उपप्रधानसहित महत्वपूर्ण मन्त्रालय लिन सफल भएको प्रष्टै छ । 

'अहिले उपप्रधानमन्त्री भैसकेपछि भविष्यमा मन्त्रीमा झर्न मिल्दैन, तपाईंको राजनीति धेरै लामो छ,सधैँ यो अवसर आउँदैन त्यसैले मन्त्री मात्र बन्नुस् भनेर ओली र प्रचण्डले सम्झाउँदा मान्नुभएन', स्रोत भन्छ, 'पछि गठबन्धनमा खेल्ने ठाउँ नरहोस् भनेर उहाँले मागेअनुसारकै जिम्मा दिइएको हो ।'

अर्कोतिर लामिछानेलाई उपप्रधानमन्त्री बनाएकोमा एमाले र माओवादीका कतिपय नेताहरु असन्तुष्ट छन् । आफूभन्दा जुनियर उपप्रधानमन्त्री रहेको क्याबिनेटमा मन्त्री बन्न अप्ठेरो परेपछि पटक-पटक मन्त्री भैसकेका र अहिले पनि आकांक्षी रहेका दुवै पार्टीका नेताहरु असन्तुष्ट बनेको बताइन्छ । तर,ओली र प्रचण्डले भने लामिछानेलाई 'खेल्ने' स्पेस नदिन उपप्रधानमन्त्री बनाउनु आफूहरुको बाध्यता भएकाले नेताहरुलाई अप्ठेरो नमान्न भनेका छन् । 

बालकोट निकट स्रोतका अनुसार ओली र प्रचण्डले सोचविचार गरेरै लामिछानेलाई गृह र उपप्रधानमन्त्री दिने निर्णय गरेका हुन् । सम्भावित अर्को समीकरणमा बार्गेनिङ्ग गर्ने ठाउँ बाँकी नराखी उनलाई उपप्रधानमन्त्री बनाएको उक्त स्रोतको तर्क छ । तत्कालीन पाँच दलीय गठबन्धनमा सरकार गठनको कसरत चलिरहँदा शेरबहादुर देउवा र कांग्रेस नेताहरुसँग लामिछानेले मन्त्री मागेको चर्चा उतिबेलै थियो ।  

'अहिले उपप्रधानमन्त्री भैसकेपछि भविष्यमा मन्त्रीमा झर्न मिल्दैन, तपाईंको राजनीति धेरै लामो छ,सधैँ यो अवसर आउँदैन त्यसैले मन्त्रीमात्र बन्नुस् भनेर ओली र प्रचण्डले सम्झाउँदा मान्नुभएन', स्रोत भन्छ, 'पछि गठबन्धनमा खेल्ने ठाउँ नरहोस् भनेर उहाँले मागेअनुसारकै जिम्मा दिइएको हो ।'

प्रधानमन्त्रीले विश्वासको मत लिँदा बहुमत पुर्याउनुपर्ने चुनौती हटिसकेको छैन । १६९ सांसदको समर्थन प्राप्त प्रचण्ड सरकारमा एमालेको ७८ सीट छ । माओवादीको ३२ र जसपाको १२ जोड्दा १२२ हुन्छ । यो संख्या बहुमत (१३८) का लागि पर्याप्त होइन । एकीकृत समाजवादीका १० सांसदले समर्थन गर्दा पनि १३२ मात्रै हुन्छ । राप्रपा र रेशम चौधरीको नागरिक उन्मुक्तिको भरोशा नभएकाले लामिछानेलाई खुशी तुल्याएर रास्वपालाई गठबन्धनमै राख्नु ओली र प्रचण्डको बाध्यता हो । 

तर,कथं लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले प्रतिकूल फैसला गरे गठबन्धन र सरकारको निरन्तरतामाथिको आशंका बाँकी नै छ । सर्वोच्चको संवैधानिक इजलासमा पुस २२ का लागि यो मुध्दाको पेशी तोकिएको छ । स्रोतका अनुसार त्यसअघि मन्त्रालयलगायतका अन्य शक्ति भागबण्डा नगर्ने ओली र प्रचण्डबीच सहमति छ ।

टिप्पणीहरू