झाझपटीमा प्रहरीले ज्यादती गरेको आरोप

-सन्तोष बराइली

सिराहाको नवराजपुर गाउँपालिका– ५,झाझपटीका स्थानीयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले ज्यादती गरेको आरोप लगाएका छन् । जनपद र सशस्त्र प्रहरीको संयुक्त टोलीले स्थानीय विनोदकुमार यादवको घरमा खोलिएको बिके जनरल स्टोरबाट आज १० हजार १ सय किलो अगरबत्तीको मसला नियन्त्रणमा लिएपछि स्थानीयले आक्रोशित हुँदै ज्यादतीको आरोप लगाएका हुन् । 

झाझपटी नेपाल–भारत सीमानामा पर्ने दशगजा भन्दा डेढ किलोमीटर दूूरीमा पर्छ । विनोदकुमार भन्छन्, ‘जनपद र सशस्त्र प्रहरीको टोली अकस्मात आयो । अगरबत्ती मसलाको बोरा गाडीमा लोड गर्न थाल्यो । मैले यो के गरेको ? भनेर सोधे पनि उनीहरुले भन्सारमा बुझाउन नियन्त्रणमा लिएको जवाफ दिए ।

बताइएअनुसार उक्त अगरबत्ती मसला बिराटनगर– ११ को सन्ध्या ट्रेड लिंकबाट बिक्री प्रयोजनको निम्ति ल्याइएको थियो । बिके जनरल स्टोरका प्रोप्राइईटर विवेक यादव भन्छन्, ‘बकाइदा भ्याट बील काटेर अगरबत्ती मसला बिराटनगरबाट ल्याइएको हो । प्रहरीले कुनै जानकारी नै नदिएर नियन्त्रणमा लिई ठाडी भन्सारमा बुझाएको छ । यो त ज्यादती भएन र !’

प्रहरी टोलीसँगै ठाडी भन्सारका प्रमुख ध्रुवप्रसाद कोइरी पनि स्टोरमा पुगेको बताइन्छ । तर सशस्त्र प्रहरीका एसपी रमेश थापाले गणबाटै गएको टोलीले नियमित चेकजाँच गरेको बताए । उक्त घटनापछि दशगजा आसपासका नेपाली भूभागमा व्यापार व्यवसाय गर्न किन नपाउने भनेर स्थानीयले प्रश्न गरेका छन् ।

टिप्पणीहरू