बराहक्षेत्रका सबै विद्यालयका कक्षा ७ को परीक्षा रद्द

बराहक्षेत्रका सबै विद्यालयका कक्षा ७ को परीक्षा रद्द

बराहक्षेत्र नगरपालिकाले सबै सामुदायिक तथा धार्मिक विद्यालयहरुमा सञ्चालित कक्षा ७ को नेपाली विषयको परीक्षा रद्द गरेको छ । 

नेपाली विषयको प्रश्नपत्रमा गम्भीर त्रुटि भेटिएपछि नगरपालिकाको शिक्षा शाखाले परीक्षा रद्द गर्ने निर्णय गरेको जनाइएको छ ।

विद्यालयहरुले सञ्चालन गरिरहेको अर्ध वार्षिक परीक्षाको त्रुटिपूर्ण प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि शाखाले उक्त परीक्षा रद्द गरेर पुनः सञ्चालन गर्न निर्देशन दिएको छ । 

हिजो सञ्चालित नेपाली परीक्षाको प्रश्नपत्रमा अत्याधिक व्याकरणीय त्रुटि फेला परेको हो । नगरपालिकाले आज गरेको सूचनामा शिक्षकलाई प्रश्नपत्र निर्माण गर्दा संवेदनशील हुन सचेत गराएको छ । 

‘कक्षा ७ को नेपाली विषयको प्रश्न निर्माण गर्दा संवेदनशील हुन र विशिष्टिकरण तालिकाको मर्मअनुसार निर्माण गर्नुहुन सचेत गराइन्छ’, सूचनामा भनिएको छ । 

त्यस्तै, विशिष्टिकरण तालिकाअनुसार प्रश्न निर्माण गरी अनुकूल समयमा परीक्षा सञ्चालन गर्न शाखाले सम्पूर्ण विद्यालयलाई निर्देशनसमेत दिएको छ ।

टिप्पणीहरू