विद्यार्थीको अपहरणपछि हत्या गर्ने निर्दयी शिक्षक प्रहरी खोरमा

विद्यार्थीको अपहरणपछि हत्या गर्ने निर्दयी शिक्षक प्रहरी खोरमा

पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिर्सिया खल्वा टोलस्थित गुरुकुल पन्ना मेमोरियल इङ्लिस बोर्डिङ स्कुलमा अध्ययनरत एक विद्यार्थीको हत्यामा सोही स्कुलका शिक्षकको संलग्नता भेटिएको छ । कक्षा ८ मा पढ्दै गरेका १४ वर्षीय निरजकुमार पासवानलाई शिक्षककै योजनामा अपहरणपछि हत्या गरिएको खुलासा भएको छ । 

आइतबार विद्यालयको पुरानो भवनको सेफ्टी टंकीभित्र पासवान मृत अवस्थामा फेला परेका हुन् । घटनाको अनुसन्धानका क्रममा विद्यालयमा कार्यरत शिक्षक ३० वर्षीय दिलिपकुमार पटेल र वीरगञ्ज महानगर–१७ अलौ घर भएका श्यामप्रसाद यादवको संलग्नता भेटिएको प्रहरीले जनाएको छ । पासवानको हत्यामा संलग्न भएको आशंकामा उनीहरुलाई पक्रेर अनुसन्धान गर्दा दुबैले अपराध स्वीकारेका हुन् । 

धोविनी गाउँपालिका–१, घोडदौडपिप्रा घर भएका दिलिपकुमार सो विद्यालयका उपप्रधानाध्यापक र गणित विषयका शिक्षक हुन् । गत मंसिर ५ गते उनले बोलाएपछि पासवान विद्यालय गएका थिए । त्यसपछि पटेलले श्यामप्रसाद र अर्का एक जनालाई बोलाएर (तीन जना मिलेर) पासवानको अपहरण गरी हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । 

आरोपीहरुले विद्यार्थीको हातखुट्टा र मुखमा पट्टी बाँधी घाँटी थिचेर हत्या गरेको पनि खुलेको छ । प्रहरीले उनीहरुमाथि ज्यानसम्बन्धी कसूरमा मुद्दा चलाएको छ ।  गत मंसिर २५ गते उनीहरुले पासवानका बुबा श्रीराम हजारा दुसादलाई फोन गर्दै ५० लाखको फिरौती रकम मागेका थिए ।

टिप्पणीहरू