जातेजाते ठाउँ ठाउँमा आफ्नै मान्छेको जोगाड
निवर्तमान गृहमन्त्री बालकृष्ण खाँणको सचिवालयमा बसेर सेवा निवृत्त सहसचिवले घर जानुअघि आफ्नी पत्नीलाई सिडियो र भाइलाई ‘मालदार’ कार्यालयमा स्थानान्तरण गराएका छन् ।
मन्त्री खाँणको सचिवालयमा सुरक्षा सल्लाहकारका रुपमा भित्रिएका तत्कालीन सहसचिव सुनिल खनालले केही दिनअघि पत्नीलाई प्रमुख जिल्ला अधिकारी र भाइलाई इलाका कार्यालय, उर्लाबारी,झापाको हाकिमको जिम्मेवारी दिएर पठाएका हुन् ।
यसअघि काठमाडौंमा प्रमुख जिल्ला अधिकारी रहेका खनाल खाँण गृहमन्त्री भएलगत्तै गृहको कर्मचारी प्रशासन महाशाखामा हर्ताकर्ता बनेका थिए । उनले आफू कर्मचारी प्रशासन महाशाखाको हाकिम भएको मौकामा गृहको ‘क्याडर’ बाहिरकी पत्नी सुप्रभालाई ऊर्जा मन्त्रालयबाट गृहमा ताने ।
गत वर्ष दशैं बिदाको छेको पारेर उनै श्रीमतीलाई काठमाडौं जिल्ला प्रशासन कार्यालयको सहायक सिडिओमा खटाए । अहिले मन्त्रीसँगै घर फर्कने बेलामा पत्नीलाई त्यहाँबाट मनाङ जिल्लाको प्रमुख जिल्ला अधिकारीका रुपमा पठाइएको छ । सुप्रभा हिजोदेखि मनाङको सदरमुकाम चामेमा हाजिर भएकी छन् ।
५८ वर्षे उमेर हदका कारण अवकाशप्राप्त सुनिललाई गृहमन्त्री खाँणले आफ्नो सुरक्षा सल्लाहकारका रुपमा भित्र्याएका थिए । गृहमा आएलगत्तै उनको खटनपटनमा २०७८ फागुनमा भाइ अनिललाई सोलुखुम्बु जिल्लाको सिडिओ बनाइएको थियो ।
हालै गरिएको आधा दर्जन प्रमुख जिल्ला अधिकारीहरुको सरुवामा सुनिल पत्नी सुप्रभा मनाङ्ग जिल्लाको प्रमुख जिल्ला अधिकारी र भाइ अनिल सोलुखुम्बु जिल्लाको प्रमुख जिल्ला अधिकारीबाट इलाका कार्यालय उर्लाबारीको प्रमुख बनेका छन् ।
निर्वाचनमा पराजित मन्त्री खाँणले हालैमात्र केही प्रमुख जिल्ला अधिकारी र १६ जना अध्यागमन अधिकृतहरुको जिम्मेवारी हेरफेर गर्दा कर्मचारीहरुले आपत्ति जनाएका थिए ।
पछिल्लो सरुवामा रसुवाका प्रजिअ नवराज जैसीलाई गृहमा तानिएको छ । त्यहाँ बाजुराका प्रजिअ प्रकाशचन्द्र अधिकारीलाई खटाइएको छ । चिरञ्जीवी गिरीलाई सिन्धुलीको सिडिओ बनाइएको छ भने गृहका उपसचिव वसन्त भट्टराईलाई सुनिलको भाइ (अनिल) को ठाउँ सोलुखुम्बुमा खटाइएको छ ।
यस्तै टिकापुर इलाका कार्यालयका प्रमुख पुष्कर खड्कालाई बाजुराको सिडियो, भैरहवा विमानस्थल कार्यालयका प्रमुख अनुप केसीलाई मुस्ताङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ । उर्लाबारीको इलाका कार्यालयका प्रमुख तुलसीराम पौडेललाई म्याग्दीको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।
मन्त्रालयको काममा भन्दा अनावश्यक ढंगले कर्मचारी र प्रहरीको सरुवामा रमाउने सल्लाहकारका कारण गत आमनिर्वाचनमा गृहमन्त्री खाँण पराजित हुनुलाई कतिपय काँग्रेसीले स्वाभाविक मानेका छन् । स्वयम मन्त्रालयका कर्मचारी पनि उनका पछिल्ला निर्णयप्रति रुष्ट देखिन्छन् ।
टिप्पणीहरू