राप्रपाले सबै हिसाब निकालेर मात्रै मन्त्रीको टुंगो लगाउने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा सहभागिता हुने/नहुने विषयमा थप छलफलपश्चात मात्रै निर्णय गर्ने भएको छ ।
आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सत्ता साझेदार दलहरुसँग छलफल गर्न वार्ता कमिटी बनाउने निर्णय गरेपनि सरकारमा जाने/नजानेबारे निर्णय गरिनसकेको एक नेताले बताएका छन् । उनका अनुसार बैठकमा बोल्ने अधिकांश सदस्यले सरकारमा जानुपर्ने धारणा राखेका छन् ।
धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा नेताद्वय पशुपति समशेर राणा,डा.प्रकाशचन्द्र लोहनी र अध्यक्ष राजेन्द्र लिङ्गदेनले धारणा राख्न बाँकी छ । बैठकमा उपाध्यक्ष बुध्दिमान तामाङ,हेमजङ गुरुङ, ध्रुबबहादुर प्रधान, विक्रम पाण्डे,वरिष्ठ नेता रविन्द्र मिश्र,ठाकुरमोहन श्रेष्ठ, केन्द्रीय सदस्य दिपक बोहरा,महामन्त्री भुवन पाठकलगायतले आ-आफ्ना धारणा राखेका छन् ।
यसअघि राप्रपाको पदाधिकारी बैठकले सरकारलाई समर्थन गर्ने तर,तत्काल सहभागी नहुने निर्णय गरेको थियो । यसै विषयमा थप छलफल गर्न आज कार्यसम्पादन समितिको बैठक बसेको हो ।
टिप्पणीहरू