प्रहरी र अख्तियारद्वारा शपथलगत्तै पत्राचार, दुई जना माननीयको कुर्सी धराप
नयाँ संसदको बैठक बसेकै छैन, जितेर आएका दुई मान्यमध्ये एकलाई प्रहरीबाट र अर्कालाई अख्तियारबाट पत्र काटिसकियो ।
वारेशनामाबाट उम्मेदवारी दर्ता गराई महोत्तरी– १ मा माओवादी उपमहासचिव गिरिराजमणि पोखरेललाई चुनाव हराएका एमाले सांसद लक्ष्मी महतो कोइरीबारे प्रहरीबाट संसद सचिवालयलाई सबै सांसदले शपथ लिएको १ घण्टापछि ७ गते २ बजेतिर चलानी नम्बर ६७८ को पत्र गएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयले सचिवालयलाई लेखेको छ, ‘प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको जानकारीमा आएको र निजलाई कर्तव्य ज्यान मुद्दामा थुनामा राख्ने उच्च अदालतको आदेश भएको हुँदा सो आदेश कार्यान्वयनमा सहयोग गरिदिनुुहुन...।’
उनलाई मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन बिकको हत्यामा संलग्न भएको भन्दै उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । उनी जिल्ला अदालत महोत्तरीबाट १ लाख धरौटी तिरी तारेखमा छुटेका थिए । तर, उच्च अदालतले ०७७।८।१९ गते पुर्पक्षमा राख्न आदेश दिएलगत्तै ‘फरार’ भए । जिल्ला अदालत महोत्तरी, जलेश्वरले ०७९।९।५ गते अझैसम्म हाजिर हुन नआई फरार रहेको पत्रमार्फत् गरेको ताकेतासमेतलाई टेरपुच्छर नलगाएपछि जिल्ला प्रहरीले पुस ७ गते लेखेको पत्र उपत्यका केरकारले सोही दिन संसदलाई फरवार्ड गरेको हो ।
प्रहरीले पक्राउ गर्नका लागि चिठी काटेका यिनै मान्यलाई सरकारले संविधान दिवसका अवसरमा गत असोज २ गते प्रवल जनसेवाश्री पदक दिने सूचीमा नाम राखेको थियो । त्यस्तै, मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङको हकमा भ्रष्टाचार मुद्दामा अख्तियारले शपथको पर्सिपल्ट बेलुका पत्र पठायो । अख्तियारले उनलाई ‘संसदीय मामिलामा सामेल नगराउनु’ भनेको छ । अर्थात्, भ्रष्टाचार मुद्दा विचाराधीन रहेको अवस्थामा सांसदको पद स्वतः निलम्बन हुन्छ । प्रहरीले पठाएको पत्रअनुसार, लक्ष्मी महतो संसदमा हाजिर हुनासाथ प्रहरीलाई बुझाउनुपर्ने हुन्छ । र, उनको कतै पनि दस्तखत चल्दैन । त्यस्ता व्यक्तिको उम्मेदवारी वारेशबाट दर्ता भयो, वारेशबाटै सांसदको प्रमाणपत्र लिए ।
टिप्पणीहरू