तीन थरि सत्ता घटकका अनेक थरि शर्त
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बसेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा एमाले अध्यक्ष केपी शर्मा पनि पुग्नुभएको छ ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बैठकमा सहभागी भएको बताइएको छ ।
सत्ता गठबन्धनमा रहेका तीन वटा दलले सरकारमा सहभागी हुने र विश्वासको मत दिनुअघि आफ्ना माग तेर्साएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वर्तमान सरकारमा जानुअघि आफ्ना केही माग सम्बोधन गर्नुपर्ने धारणा राखेको छ । पार्टीको हिजो बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा जाने तर त्यसअघि आगामी २७ गते राष्ट्रिय एकता दिवसको दिन सार्वजनिक बिदा दिनुपर्नेलगायत माग राखेको हो । उसले हिजोको बैठकमा हिन्दू राज्य र राजतन्त्रको पुनर्बहालीबारे केही बोलेको छैन ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई विश्वासको मत दिनुअघि आफ्ना थप माग अघि सारेको छ । गत सोमबार पनि बार्गेनिङ्ग गरेर उप्रधानसहित गृह मन्त्रालय लिएको उक्त पार्टीले आगामी दिनमा उपसभामुख र पाँच वटा मन्त्रालयमाथि दाबी गरेको छ । पार्टीले उपसभामुख पाएमा कम्तिमा तीन वटा मन्त्रालयमा चित्त बुझाउने सभापति लामिछाने निकट स्रोतले बताएको छ ।
टिप्पणीहरू