कोरोनाबाट जोगिन मकवानपुर प्रशासनको आग्रह

कोरोनाबाट जोगिन मकवानपुर प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय, मकवानपुरले कोरोनाबाट जोगिन जिल्लावासीलाई आग्रह गरेको छ । छिमेकी भारतसहित अन्य मुलुकमा फैलिएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै प्रशासनले सतर्क रहन भनेको हो । 

कोरोना संक्रमणको नयाँ स्वरुप अन्य मुलुकमा देखिएको हुनाले सजग रहन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी (सिडिओ) राजेन्द्रदेव पाण्डेले बताए । यसको असर नेपालमा पनि पर्नसक्ने अवस्थाप्रति सजग रहन आवश्यक रहेको उनको भनाइ छ । 

उनले कोरोना संक्रमणको जोखिम तथा असरबाट सुरक्षित रहन र बढी भीडभाड हुने स्थानमा नजान पनि सुझाएका छन् । त्यस्तै, सार्वजनिक यातायातमा यात्रा गर्दा तथा सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्न प्रशासनले भनेको छ । 

एकअर्कामा भौतिक दूरी कायम राख्नेलगायतका सम्पूर्ण जनस्वास्थ्य मापदण्ड पालना गर्न अनुरोधसमेत गरिएको छ । साथै, हालसम्म बुस्टर डोज लगाउन छुटेका सबैलाई नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी उक्त खोप लगाउन प्रशासनले सुसूचित गराएको छ ।

टिप्पणीहरू