वामदेवलाई माधवको प्रस्ताव : ‘हाम्रो पार्टी ज्वाइन गरेर उप-प्रधानमन्त्री बन्नुस्"
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्यनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक एवम् राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई उपप्रधानमन्त्रीको प्रस्ताव गर्नुभएको छ । नेकपा एकीकृत समाजवादीलाई प्रचण्ड नेतृत्वको सरकारमा सामेल हुने आग्रह लिएर आलोकनगर पुग्नुभएका गौतमलाई त्यसो हो भने तपाईं यता आएर आफै सरकारमा जानोस् भनी प्रस्ताव गर्नुभएको हो ।
अध्यक्ष नेपालसँग भेटवार्ताको निम्ति नेता गौतम अस्ति मंगलबार अपरान्ह नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय,आलोकनगर जानुभएको थियो । नेपालसहित पार्टी पदाधिकारीहरुसँग संयुक्त कुराकानी हुँदै गर्दा अध्यक्ष नेपालले गौतमलाई भन्नुभयो ‘अभियान छाडेर हाम्रो पार्टीमा सामेल हुनुहोस् । त्यसपछि उपप्रधानमन्त्रीसहित सरकारमा पनि जानुहोला ।’
अध्यक्ष नेपालको कुरो सुनेपछि पार्टी पदाधिकारीहरु अचम्ममा परेको बताइन्छ । तर,गौतमले भने खासै प्रतिक्रिया नदिनुभएको सहभागी एक जनाले बताए । गौतमको भनाइ उद्धृत गर्दै उनले भने, ‘म आफ्नो पार्टी एकता राष्ट्रिय अभियान बलियो बनाएपछि मात्रै सरकारमा जाने हो ।’
कुरै कुरामा माधवले पनि आफ्नो पार्टीसमेत लतारिएर सरकारमा सहभागी नहुने धारणा राख्नुभएको बताइन्छ ।
टिप्पणीहरू