बागमतीका सुकुम्बासी हटाउन गृहसँग महानगरको हारगुहार
काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बाग्मती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन गृह मन्त्रालयसँग सहयोगको मागेको छ ।
नदी किनारमा अनधिकृत रुपमा निर्माण भएका संरचना हटाउनका लागि पटक-पटक प्रयास गरेपनि असफल भएको भन्दै महानगरपालिकाले गृहको सहयोग खोजेको हो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले गृहलाई पत्र पठाएर सुकुम्बासी हटाउनका लागि जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवम् समन्वय गरिदिन आग्रह गरेका छन् । महानगर क्षेत्रभित्र विभिन्न स्थानमा सार्वजनिक क्षेत्र अतिक्रमण गरी निर्माण भएका अनाधिकृत संरचना हटाउने कार्य अभियानकै रुपमा अगाडि बढाउनुपर्ने देखिएको पत्रमा उल्लेख छ ।
भनिएको छ,‘अनधिकृत संरचनाहरु हटाउने कार्य अभियानकै रुपमा अगाडि बढाउनुपर्ने देखिन्छ । जसको लागि त्यहाँमार्फत सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवम् समन्वय हुन अनुरोध गरिन्छ ।’
अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास परियोजनाको अनुरोधमा त्यहाँको बस्ती हटाउन प्रयास गरेपनि सफल नभएको महानगरको भनाइ छ ।
सो क्षेत्रमा रहेका अनाधिकृत संरचना हटाइ तत्काल सौन्दर्यीकरणको कार्य शुरु गर्ने महानगरले बताएको छ ।
टिप्पणीहरू