राष्ट्रपति पदसँग मेरो कुनै सम्बन्ध छैन - माधव नेपाल

राष्ट्रपति पदसँग मेरो कुनै सम्बन्ध छैन - माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई आगामी राष्ट्रपति पदसँग जोडेर गरिएको प्रचारमा कुनै सत्यता नरहेको बताउनुभएको छ । उहाँले पछिल्ला दिनमा उत्पन्न नयाँ राजनीतिक परिस्थितिको विश्लेषण गर्ने क्रममा कतिपय समाचार र सामाजिक सञ्जालमा उल्लेख गरिएको उक्त विषयमा आफ्नो कुनै चासो नरहेकाले भ्रममा नपर्न आग्रह गर्नुभएको छ । 

पार्टी जनवर्गीय संगठनका प्रतिनिधिसँगको जुम बैठकलाई सम्बोधन गर्दै उहाँले आफूलाई राष्ट्रपति पदसँग जोडेर आएका पछिल्ला समाचारमा कुनै सत्यता नभएको विषयमा जोड दिनुभएको हो । एमालेलगायत सात दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नुभएपछि उत्पन्न नयाँ राजनीतिक परिस्थितिमा एमालेसँग एकीकृत समाजवादीको एकीकरण हुने र माधव नेपाल राष्ट्रपति हुनसक्ने आशयका समाचारहरु बाहिरिएपछि नेपालले त्यसबारे प्रष्ट पार्नुभएको हो । 

यता आगामी राष्ट्रपति एमालेले लिने प्रधानमन्त्रीसँग सहमति भएको छ । एमालेभित्रै राष्ट्रपति को बन्ने भन्ने चर्चासँगै पुनः वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी तेहरिने सम्भावनातर्फ पनि केहीले अनुमान लगाएका छन् ।

संविधानतः राष्ट्रपति र उपराष्ट्रपति दुई कार्यकालभन्दा बढी एउटै पदमा बस्न नमिल्ने उल्लेख छ । तर, २०७२ सालमा नयाँ संविधान जारी भएपछि राष्ट्रपतिमा २ बर्षको लागि नियुक्त भण्डारीको कार्यकाललाई ‘संक्रमणकालीन’समयको व्याख्या गरिएको छ ।

टिप्पणीहरू