प्रचण्डलाई गाली नगर्नु,यसमा उनको दोष छैन-शेरबहादुर देउवा
माओवादीसँगको गठबन्धन टुटेसँगै राष्ट्रपति,उपराष्ट्रपति,सभामुख, उपसभामुख,प्रदेश सरकारलगायत सबै राजकीय पद गुमाउने अवस्थामा पुगेको नेपाली काँग्रेस संघीय संसदको प्रतिपक्षी बेञ्चमा पुगिसकेको छ । सबैभन्दा ठूलो दल हुँदाहुँदै पनि गठबन्धन जोगाउन नेतृत्वले पर्याप्त पहल नगर्दा मुखमै आइसकेको सत्ता गुमेपछि कांग्रेसमा चर्को निराशा र आक्रोश छ । सभापति शेरबहादुर देउवा र उहाँको टिम आलोचनाको केन्द्रमा छ ।
देउवाको आफैँ प्रधानमन्त्री बन्ने हठका कारण गठबन्धन भत्किएको धेरै नेताले सार्वजनिकरुपमै भनेका छन् । संस्थापन इतर (शेखर-गगन) खेमाले त देउवाले राजीनामा दिनुपर्ने मागसमेत राखेको छ । देउवामात्र होइन,प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि कांग्रेसी कार्यकर्ताले आलोचना गरेका छन् ।
सडकबाट आफ्नो राजीनामाको माग भैरहँदा पनि देउवाले भने अहिलेसम्म सार्वजनिकरुपमा यसबारे कुनै टिप्पणी गर्नुभएको छैन । तर,आन्तरिक भेटघाट र छलफलमा भने उहाँले राजनीतिमा यस्ता घटना सामान्य हुने भएकाले सहजतापूर्वक लिन र नआत्तिन भन्ने गर्नुभएको छ । त्यतिमात्र होइन, गठबन्धन तोडिनुमा प्रचण्डको कुनै गल्ती नभएको पनि देउवाले कार्यकर्तालाई सुनाउनु भएको छ ।
गठबन्धन टुट्नुमा प्रचण्डको कुनै दोष नरहेकाले उहाँको विरोध नगर्न सभापति देउवाले निर्देशन दिएको आज दिउँसो भेटेर फर्किएका एक नेताले बताए । 'राजनीतिमा यस्तो भैहाल्छ,आत्तिनु पर्दैन । यसमा प्रचण्डको पनि दोष छैन,उनलाई गाली नगर्नु । हाम्रै मान्छेले कुरा नबुझेर बिग्रिएको हो', देउवाको भनाई उधृत गर्दै ती नेताले भने ।
'राजनीतिमा यस्तो भैहाल्छ,आत्तिनु पर्दैन । यसमा प्रचण्डको पनि दोष छैन,उनलाई गाली नगर्नु । हाम्रै मान्छेले कुरा नबुझेर बिग्रिएको हो'
भेट्न आउने नेताहरुलाई देउवाले गठबन्धन टुट्नुमा दुई वटा मुख्य कारण सुनाउने गर्नुभएको छ । 'गठबन्धन फुटाउने एमालेको घोषित नीति नै थियो । त्यसलाई रोक्न प्रचण्डलाई विश्वासमा लिन सक्नुपर्थ्यो,त्यहाँ कतै न कतै चुकियो भन्नेमा सभापति हुनुहुन्छ', संस्थापन खेमाका उनै नेताले भने । त्यस्तै, माओवादीलाई सरकारको नेतृत्व दिनै हुँदैन भनेर शेखर-गगन समूहको दबाबले पनि समयमै निर्णय गर्न आफूलाई अप्ठेरो परेको देउवाले निकटहरुलाई भन्नुभएको छ ।
'यत्रो ८९ सिट ल्याएको छ,३२ सिटको पार्टीलाई कहाँ छोड्न मिल्छ भनेर जसले सभापतिलाई अनावश्यक दबाब दिए,अहिले उनीहरु नै गठबन्धन जोगाउन नसकेको भनेर विरोध गरिरहेका छन्', देउवालाई भेटेर आज बधाइ थापी फर्किएका बाग्मती प्रदेशको काङ्ग्रेस सँसदीय नेतामा हिजो इन्द्र बानियाँलाई हराउने नुवाकोटका बहादुरसिंह तामाङ्ग भन्छन्, 'गगन थापाले त कालो कोठामा गरिने कुनै पनि सहमति मान्दैनौँ भनेकै हुन् । प्रचण्डलाई पिएम मानेको भए अहिले सबैभन्दा बढी बिरोध गर्नेमा पनि उनै हुन्थे ।'
त्यसो त,निकट नेताहरुप्रति पनि देउवाको गुनासो छ । वार्तामा बस्नेहरुले आफ्नो स्पिरिट बुझेर गठबन्धनका नेताहरुसँग 'डिल' गर्न नसकेका कारण प्रचण्ड फुत्किएर बालकोट पुगेको र त्यसमा बिमलेन्द्र निधि सबैभन्दा बढी जिम्मेवार रहेको देउवाको बुझाई हो ।
चुनावको मतपरिणाम सार्वजनिक भएलगत्तै दिल्ली पुगेका निधि पुस ८ गते काठमाडौँ फर्किएर एकाएक सक्रिय भएका थिए । काठमाडौँ झरेर सीधै एमाले अध्यक्ष ओली भेट्न शनिबार राती बालकोट पुगेका उनले कांग्रेस र एमाले मिलेर सरकार बनाउने र माओवादीलाई साइड लगाइदिने प्रस्ताव गरेका थिए । दक्षिणको लाइनअनुसार सक्रिय भएका निधि आइतबार बिहानै खुमलटार पुगेर प्रचण्डलाई ओलीसँगको भेटवार्ता सुनाउँदै माओवादीबाहेकको सरकार गठन गर्ने चेतावनी दिएका थिए । त्यही बिन्दुबाट कुरो बिग्रिएको भेट्न आउनेहरुलाई आरजू राणाले पनि सुनाउने गर्नुभएको छ।
टिप्पणीहरू