एकीकृत समाजवादीका नेताहरु आज पनि बैठकमा व्यस्त

एकीकृत समाजवादीका नेताहरु आज पनि बैठकमा व्यस्त

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि राखिएको छ । हिजो स्थगित बैठकको आज निरन्तरता हो ।  हिजोको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउन प्रस्ताव गर्नुभएको बताइएको छ । उहाँको अध्यक्षतामा बसेको स्थायी कमिटीको १४ औं बैठकमा नेताहरुले आफ्नो धारणा राख्न बाँकी रहेकाले बैठक आज पनि बोलाइएको हो ।

हिजोको बैठकमा अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव डा. बेदुराम भुसालसहित १८ जना नेताले धारणा राखेको जानकारी दिइएको छ । उहाँहरुले वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी रणनीति तथा सङ्गठन निर्माणका कार्ययोजना,वामपन्थी एकतालगायत विषयमा छलफल गरिएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभएको छ ।  


अध्यक्ष नेपालले मुलुकभित्र तत्काल विकसित राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिकाबारे धारणा राखेपछि अरु नेताले आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो । पार्टीको सांगठानिक सुदृढिकरणका निम्ति सशक्त एजेण्डाका साथ देशव्यापी अभियान अगाडि बढाउन अध्यक्षले निर्देशन दिनुभएको खतिवडाको भनाइ छ ।

त्यसैगरी सम्मानित नेता खनालले क्रान्तिकारी पार्टी निर्माणको निम्ति वैचारिक र राजनीतिक हतियारलाई चुस्त,दुरुस्त पार्नुपर्नेमा जोड दिनुभयो । महासचिव भुसालले संगठन निर्माण र पुनर्ताजगीका लागि प्रस्ताव पेश गर्नुभएको बताइन्छ ।

बैठक आज पनि बिहान ११ बजे पुनः बस्न लागेको छ ।

टिप्पणीहरू