काँग्रेसको अर्को खेमालाई निवर्तमान गृहमन्त्रीको तीतो जवाफ

काँग्रेसको अर्को खेमालाई निवर्तमान गृहमन्त्रीको तीतो जवाफ

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा निवर्तमान गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धनको सट्टा पार्टी एक्लै निर्वाचनमा गएको भए २० सीट पनि नआउनेतर्फ हिसाब गर्न पार्टीभित्रको विरोधी समूहलाई आग्रह गरेका छन् । 

बीपी कोइराला अध्ययन प्रतिष्ठान बुटवलको चौथो अधिवेशनको उदघाटन समारोहमा उनले उक्त निश्कर्ष सुनाएका हुन् ।‘चुनावअघि गठबन्धन टुटेको भए काँग्रेसले प्रत्यक्षतर्फ २० सीट हाराहारी मात्र जित्न सक्थ्यो । हिसाब निकालेर हेरौं न !’

उनले वामपन्थी गठबन्धन गरे पनि चुनावपछि काँग्रेस ठूलो पार्टी हुुँदाहुँदैको अवस्थामा सबैतिर विपक्षी हुन पुगेको सन्दर्भमा डा. शेखर कोइराला र महामन्त्री गगन थापाहरुको समूहले गनगन गर्दै आइरहेको दावीसहित उनले उक्त हिसाब देखाएका हुन् ।

खाँणले हिजै नेपाली काँग्रेस सरकार गठनको चरणमा रहँदा नेपाली राजनीतिमा वाह्य हस्तक्षेप बढेकाले समीकरण अर्कै बनेको पनि उल्लेख गरेका छन् । तर,पार्टी सभापति शेरबहादुर देउवाको ढिपीका कारण सत्ता साझेदार माओवादी केन्द्रले कित्ताकाट गरेको विषयमा भने उनी मौन देखिए।

यता काँग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा नेतृत्वको पर्याप्त गृहकार्य र सावधानी नहुँदा सत्ता राजनीतिमा पछि परिएको निश्कर्ष निकालेका छन् । हिजो जारी संयुक्त विज्ञप्तिमा पार्टीभित्र गम्भीर आत्मसमीक्षा र आत्ममूल्याङ्कन गर्दै सुविचारित ढंगबाट नयाँ बाटो तय गर्नुपर्ने उनीहरुको भनाइ छ । काँग्रेसले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्न यो साता केन्द्रीय समितिको बैठक डाकेको छ ।

टिप्पणीहरू