पत्रकार महासंघका लागि अघिल्लो वर्ष चुनौतिपूर्ण

पत्रकार महासंघका लागि अघिल्लो वर्ष चुनौतिपूर्ण

नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका दृष्टिले वर्ष सन् २०२२ निकै चुनौतिपूर्ण रहेको जनाएको छ । नयाँ प्रविधि र शैलीको विकाससँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धका घटनामा पनि नयाँ तरिका अनाइएको महासंघको भनाइ छ ।

अनलाइन सञ्चारमाध्यमको सिएमएममा अनधिकृत प्रवेश गर्ने,संगठित रुपमा अनफलो अभियान चलाउने,सामाजिक सञ्जालमार्फत विभिन्न प्रकारका धम्की दिने, सामाजिक सञ्जाललाई बन्द गर्न प्रयास गर्ने र विमुख बनाउने तथा ह्याक गरी डिजिटल माध्यमद्वारा सञ्चारमाध्यम र पत्रकारमाथि आक्रमण गर्ने कार्य भएको महासंघको ठहर छ । 

पत्रकार महासंघको अभिलेखमा सन् २०२२ मा प्रेस स्वतन्त्रता हननका ५३ वटा घटनामा १३२ जना पुरुष र १८ जना महिला पत्रकारसहित ६ वटा सञ्चारसंस्था प्रभावित भएका छन् । त्यस्तै,‘सन् २०२१ मा प्रेस स्वतन्त्रता हननका ६२ वटा घटना अभिलेखमा १९० जना पत्रकार तथा ४ सञ्चारमाध्यम प्रभावित भएका थिए’ महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

महासंघले सरकारले ल्याएका र ल्याउन प्रयास गरिएका सञ्चार कानून सुधारमा महासंघको निरन्तर खबरदारी हुँदा पनि पाँच वर्षे प्रतिनिधिसभाको कार्यकाल सकिएको बताइएको छ । सन् २०२२ मा संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धका कानून ल्याइएको,संघ, प्रदेश र स्थानीय सरकारले ल्याएका सञ्चारसम्बद्ध विचाराधीन कानून प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध रहेको महासंघले जनाएको छ ।

यस्ता कानूनले नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थालाई चुनौति थपिदिएको महासंघको निष्कर्ष छ ।
 

टिप्पणीहरू