भारतबाट भित्रिएको ३० टन भटमास भन्सारबाटै फिर्ता

भारतबाट भित्रिएको ३० टन भटमास भन्सारबाटै फिर्ता

भारतबाट आयातगरी नेपाल ल्याउन लागिएको ३० टनभन्दा बढी भटमास भन्सारबाटै फिर्ता गरिएको छ । भन्सारमा जाँचबुझ गर्दा न्यून गुणस्तरको पाइएपछि नेपालगञ्ज नाकाबाट फर्काइएको हो ।  

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गत खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, नेपालगञ्जले भटमासको 'कन्साइन्मेन्ट' अस्वीकृत गरेको जनाएको छ । कार्यालयका अनुसार नाकामा ल्याइएको ३० हजार २२५ केजी भटमास परीक्षण गर्दा न्यून गुणस्तरको पाइएको हो । 

भन्सार कार्यालयले परीक्षणका लागि भटमासको नमूना चेकजाँचका लागि पठाएको थियो । सो क्रममा सरकारले निर्धारण गरेको खाद्यान्नको अनिवार्य गुणस्तर मापदण्डबमोजिम क्षतिग्रस्त दाना तथा जैविक बाह्य पदार्थको मात्र बढी पाएकोले भटमास प्रतिकूल देखिएको विभागको ठहर छ । 

‘नेपालगञ्ज भन्सार कार्यालयले परीक्षणका लागि भटमासको नमुना खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, नेपालगञ्ज पठाएकोमा उक्त भसमासको नमुना परीक्षण गर्दा नेपाल सरकारले निर्धारण गरेको खाद्यान्नको अनिवार्य गुणस्तर मापदण्डबमोजिम क्षतिग्रस्त दाना तथा जैविक बाह्य पदार्थको मात्र बढी पाई प्रतिकूल देखिएकोले आयात गर्न नमिल्ने भनी मिति २०८१–०८–१० गते नेपालगञ्ज भन्सार कार्यालयलाई प्रतिवेदन पठाएको जानकारी गराइन्छ’, विभागको विज्ञप्तिमा उल्लेख छ । 

विभागले खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा तोकिएको कार्यालयबाट अनिवार्य अनुमति लिन पनि अनुरोध गरेको छ । अटेरी गरी अनुमति बेगर खाद्य पदार्थ पैठारी गरेको पाइएमा कानूनबमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।

टिप्पणीहरू