किन जान्छन् प्रधानमन्त्रीसँग भेटेलगत्तै रवि बालकोट ?

किन जान्छन् प्रधानमन्त्रीसँग भेटेलगत्तै रवि बालकोट ?

हिजो बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भेट गरेका छन् । बिहान साढे ८ बजे बालुवाटार पुगेका लामिछानेले प्रधानमन्त्रीसँग झण्डै आधा घण्टा कुराकानी गरेका थिए । 
    

कुराकानीको विस्तृत विवरण सार्वजनिक नभए पनि लामिछाने निकटस्थहरुले सामाजिक सञ्जालमा विशेषगरी सिंहदरबारमा सर्वसाधारणका सहज प्रवेशको विषयलाई दह्रो ढंगले उठाएको उल्लेख गरेका छन् ।

त्यसअघि दाहालसँग नेकपा एमालेका नेता ओली सरकारका उद्योग,वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले पनि भेट गरेका थिए । दुगडले प्रधानमन्त्रीसँग बिहान ७ बजेदेखि आधा घण्टा कुराकानी गरेका हुन्  । 

गृहमन्त्री लामिछाने निस्केपछि प्रधानमन्त्री निवासमा माओवादी केन्द्रका नेता लीलामणी पोखरेल छिरेको देखियो । उनले पनि प्रधानमन्त्रीसँग पौने १० बजेसम्म भेट गरे । बालुवाटारबाट ९ बजेको हाराहारीमा निस्केका गृहमन्त्री सोझै भक्तपुरतर्फ लागे । त्यहाँबाट बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा पुगेर उनले पौने १० बजेदेखि ४५ मीनेट बढी समय बिताए । 

अस्ति बिहान प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच सत्ता बाँडफाँट,प्रदेशमा सरकार गठनलगायत विषयमा बालुवाटारमा दुई घण्टा कुराकानी भएको थियो । बिहीबार बिहान सत्ता गठबन्धनमा रहेका सबै दलका शीर्ष नेताहरुको बैठक बसेर ओलीलाई उच्चस्तरीय संयन्त्रको संयोजक बनाइएको थियो । सोही सम्बन्धमा बालुवाटार र बालकोटको सल्लाहबारे थप जानकारी लिन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ओहोरदोहोर गरेको स्रोतको दाबी छ ।

गत मंगलबार पनि मन्त्री लामिछाने प्रधानमन्त्रीलाई खुमलटारमा भेट गरेपछि लगत्तै बालकोट पुगेका थिए । हिजो एमाले अध्यक्ष ओलीसँग कञ्चनपुर–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तारा लामाले पनि भेटेर आफ्ना कुरा राखेको एमाले स्रोतले पुष्टि गरेको छ ।

टिप्पणीहरू