संघीयता विरोधीले मुख्यमन्त्री माग्ने, गणतन्त्र पक्षधरले बडामहाराजलाई सम्झने

संघीयता विरोधीले मुख्यमन्त्री माग्ने, गणतन्त्र पक्षधरले बडामहाराजलाई सम्झने

गत आमनिर्वाचनको परिणामले विभिन्न राजनीतिक दललाई अचम्मको अवस्थामा पुर्याइदिएको छ । सत्ता गठबन्धनमा टाँसिनुपर्ने, आफ्ना माग छाड्न नहुने र अर्काको मागमा ललिचो बनिदिनुपर्ने अप्ठेरो अवस्थामा धेरैजसो पार्टी पुगेका छन् ।

प्रदेश सभाको चुनावी परिणामपछि बाग्मतीमा सरकार बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीको अवस्था र भूमिका निर्णायक देखिन्छ । एमाले र माओवादी मिल्दा पनि राप्रपाको १३ सांसद अनिवार्य हुन्छ । यही परिस्थितिलाई मूल्यांकन गर्दै राप्रपाले बाग्मतीमा मुख्यमन्त्रीको दाबी गरेको हो । बाग्मती प्रदेश सभामा एमालेको २७,माओवादी केन्द्रको २१ र एकीकृत समाजवादीका ७ सांसद छन् । नेपाली काँग्रेसको सबैभन्दा धेरै ३७ जना छ ।

‘जो संघीयता विरोधी छ । जसको नीति तथा कार्यक्रममा गणतन्त्रको सट्टा राजतन्त्र र संघीयताको सट्टा केन्द्रिकृत राजनीतिक संरचनालाई समेटिएको छ त्यही पार्टीले मुख्यमन्त्रीमा हलो अड्काउने योजना बनाएको छ,’माओवादी केन्द्रका एक जना प्रदेश सांसदले भने । उता सुदूर पश्चिममा प्रदेश सरकार गठनको निम्ति पनि रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी ७ सांसदसहित निर्णायक देखिएको छ । त्यही निर्णायक पक्षलाई ‘क्यास’ गर्दै उसले सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी गरेको छ । यी दुबै प्रदेशमा माओवादीको मुख्य दाबी रहेको बताइन्छ ।

चुनावी परिणामले संघीयताका पक्षधर र संघीयता विरोधीलाई एकै ठाउँमा ल्याइदिएको उनै माओवादी सांसदले बताए । भन्छन्,‘हुन तः केपी आफैलाई पनि संघीयता विरोधीको आरोप लाग्दै आएको छ । तर,अहिलेको अवस्था पहिलेको भन्दा जटिल छ । प्रचण्ड नेतृत्वको सरकारमा सामेल दलहरुको चरित्रले पनि उक्त जटिलतालाई प्रष्ट पारेको छ ।’

अहिलेको राजनीतिक खिचातानी र अस्थिरतालाई दक्षिणले घच्याकघुचुक गरेर मध्यावधि निर्वाचनमा पुर्याउने मार्गको रुपमा प्रयोग गर्नसक्ने सम्भावना पनि त्यत्तिकै रहेको एमाले र माओवादी नेताहरुले देखेको बताइन्छ । कतिसम्म भने राजतन्त्रको जरोकिलो उखेलेकोमा जस पाउँदै आएको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस घोषणा गराउने तयारीसमेत यसबीचमा भएको छ । ‘गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्रीको मुखबाट राप्रपाको माग सम्बोधन हुने तयारी गरिएको बुझेका छौं,’ काँग्रेसको एक जना माथिल्लो तहका नेताले भने ।

अर्कोतर्फ पार्टीभित्र झगडा गर्ने तर सत्ताबाट बाहिरिएपछि मिल्ने चरित्र नेपाली काँग्रेसमा सँधै देखिएको छ । अप्रत्यासित रुपमा गत साता सत्ता गुमाएकोमा काँग्रेसका नेताहरु सबैजसो तिलमिलाएका देखिन्छन् । तर पनि पार्टी भोलिका दिनमा थप कमजोर हुने आकलन गर्दै नेताहरुले नयाँ ‘केमिस्ट्री’ सहित काँग्रेसलाई अघि बढाउने सम्भावना उत्तिकै देखिन्छ । यो साता बस्ने केन्द्रीय समिति बैठकमा दुबै पक्षले नरम ढंगले प्रस्तुत हुने संकेत गरेका छन् ।

टिप्पणीहरू