घनश्याम र भीम रावलसङ्ग एकीकृत समाजवादीको वार्ता जारी

घनश्याम र भीम रावलसङ्ग एकीकृत समाजवादीको वार्ता जारी

नेकपा एकीकृत समाजवादी पार्टीको अस्ति र हिजो बसेको स्थायी कमिटी बैठकमा राजनीतिक अवस्थाको गहन विश्लेषण गरिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने र सरकारमा सहभागी हुनेसम्मको विषयमा मिहीन ढंगले छलफल भएको बताइन्छ । 

त्यसैले पार्टीले केही दिन ‘पर्ख र हेर’ को अवस्थामा बस्ने बीचको बाटो अवलम्बन गरेको छ । ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय चलखेल कस्तो हुन्छ हेर्ने भन्ने मत बलियो देखियो । चलखेल धेरै भएकाले सरकार कति समय अगाडिसम्म जान्छ भन्ने भएको छ । त्यसैलाई पर्ख र हेरको नीतिमा लिइएको छ,’ एक जना नेताले बताए ।

राष्ट्रिय राजनीतिमा देखिएको माहौलले एकीकृत समाजवादीका नेता तथा सांसदलाई पनि प्रभाव पार्नु कुनै अचम्मको विषय भएन । पुरानो गठबन्धन भत्किएको र नयाँ गठबन्धन पनि नयाँ ढंगले निर्माण भएकाले केही नेताबाहेक अधिकांशमा ‘अब पार्टी र आफूहरुको हैसियत के हुने ?’ भन्ने विषयले घर गरेको पाइन्छ । 

बैठकमा सहभागी एक जना सदस्यले भने, ‘पार्टी सरकारमा जानैपर्छ । अन्यथा,थेग्न सकिँदैन भन्ने मत बलियो हुँदै गएको छ । अन्ततः हुने सम्भावना पनि त्यही हो । तर आजको पोलिटब्युरो बैठकले के निर्णय गर्छ त्यो भने हेर्न बाँकी छ ।’ एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न नसकेको सन्दर्भमा निर्वाचित केही सांसदहरु लाखापाखा लाग्ने सम्भावनालाई भने पार्टीका कानुनी पृष्ठभूमि भएका नेताले अस्वीकार गरेका छन् । सांसद चोरिन सक्ने सम्भावना नभएको उनको दाबी छ ।

उनले भने, ‘राष्ट्रिय पार्टी भएको वा नभएको अवस्थामा पनि चुनाव चिन्हको महत्व हुन्छ । जुन चिन्हबाट सांसद निर्वाचित भएको हो  सो पार्टीले त्यस्ता सांसदको पद खारेजीको माग गरेमा स्वतः खारेज हुन्छ । त्यसैले धेरै रकम र मिहिनेत खर्चेर जितेका सांसदले सजिलैसँग पार्टी परित्याग गर्न सक्ने अवस्था नै छैन ।’

तर,संगठित रुपमा कानुनमा तोकिएको संख्या पुर्याएर पार्टी विभाजन गर्न सक्ने सम्भावना भने सबै पार्टीमा ज्युँदो रहेको उनको भनाइ छ । ‘त्यसरी चाहिँ अर्को पार्टीमा मिसिन सक्ने सम्भावना छ । प्रभु साहले झैँ स्वतन्त्र भएर निर्वाचनमा विजयी हुने अनि संगठित रुपमा पार्टी गठन गरेर बार्गेनिङ पावर बढाउने सम्भावना उत्तिकै छ । पार्टी विभाजन गरेर गएमा पद जोगिने  वैधानिक सम्भावना हुन्छ,’ उनै नेताले अगाडि भने, ‘हाम्रो पार्टीमा अहिले नै त्यस्तो शंका गर्नु उपयुक्त देखिँदैन । तर,कानुनका छ्रिद्र देखाउन ठूला पार्टीलाई कसले सिकाउन पर्छ र !’ 

अर्कोतर्फ विशेष परिस्थितिलाई ध्यानमा राखेर एकीकृत समाजवादीले चुनावअघि एमाले परित्याग गरेका नेता घनश्याम भुसाललाई पार्टीमा भित्र्याउन पहल गरिरहेको बुझिन आएको छ । त्यसैगरी एमालेले चुनावमा टिकट नदिएका नेता भीम रावलसँग पनि यसबीचमा कुराकानी भएको एकीकृत समाजवादी स्रोतले बताएको छ । यदाकदा अनौठो खालको ‘नेचर’ मा प्रस्तुत हुने गरेका रावललाई भने कतिपयले यिनलाई ‘थेग्न सकिएला र !’ भन्ने गरेकोसमेत स्रोतको दाबी छ ।

टिप्पणीहरू