चुनावको तयारी थाल्न आयोगका पदाधिकारीलाई प्रधानमन्त्रीको निर्देशन

चुनावको तयारी थाल्न आयोगका पदाधिकारीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा थाल्न निर्वाचन आयोगका पदाधिकारीलाई आग्रह गर्नुभएको छ । 

आज बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफलमा उहाँले संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन र राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न आयोगका पदाधिकारीहरुसँग अनुरोध गर्नुभएको हो ।

‘रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुहोस्, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि हामी राजनीतिक दलहरुबीच छलफल गर्छौँ र एउटा निष्कर्षमा पुगौला,’ प्रचण्डले निर्देशन दिँदै भन्नुभयो ।

छलफलका क्रममा प्रधानमन्त्रीले तीनै तहको निर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकोमा आयोगका पदाधिकारीहरुलाई धन्यवाद दिनुभयो । बैठकमा प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रवि लामिछानेलगायत उपस्थित थिए । त्यस्तै, अयोगका तर्फबाट प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित अन्य आयुक्तहरु पनि बैठकमा बसेका थिए ।

टिप्पणीहरू