समाजवादीको बैठकमा झलनाथको कडा टिप्पणी,दुई नेताको अर्कै बोली

समाजवादीको बैठकमा झलनाथको कडा टिप्पणी,दुई नेताको अर्कै बोली

तत्कालीन पाँचदलीय गठबन्धन टुटेर माओवादी र एमाले मिलेपछि 'यता न उता' को अवस्थामा पुगेको एकीकृत समाजवादीभित्र सरकारमा सहभागिताको विषयलाई लिएर तीव्र बहस भइरहेको छ । एमालेसहित ७ दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि दुबैतिरबाट एक्लिएको समाजवादीका अधिकांश नेता सरकारमा जान नहुने पक्षमा देखिएका छन् । 

यसै विषयमा निर्णय गर्न बसेको स्थायी कमिटी बैठक विना निष्कर्ष टुंगिएको छ । अब यो निर्णय गर्ने अधिकार पोलिटब्युरो बैठकमा पुगेको छ । दुई दिनसम्म बसेको स्थायी कमिटी बैठकमा अधिकांश नेताले सरकारमा जान नहुने धारणा राखेका थिए । कतिसम्म भने सम्मानित नेता झलनाथ खनालले त सरकार वामपन्थी नेताको नेतृत्वमा बने पनि ‘खिचडी सरकार’ भन्दै समर्थन गर्न नसकिने धारणा राख्नुभएको थियो । बैठकमा लिखित धारणा राख्नुभएका खनालले पार्टी निर्माणमा जुट्नुपर्नेमा जोड दिनुभएको थियो । 

खनालजस्तै बैठकमा बोल्ने अधिकांश नेताले सरकारमा सहभागी हुन नहुने धारणा राखेको बताइएको छ । तर,नेता मुकुन्द न्यौपाने र प्रकाश ज्वालाले भने प्रचण्ड नेतृत्वको सरकारमा जानुपर्ने धारणा बैठकमा राखेको बैठक स्रोतले जानकारी दियो । न्यौपाने निकै अघिदेखि एमालेसँग मिल्नुपर्छ भन्ने विचारका नेता हुन् । समाजवादी सरकारमा जाँदा ज्वालाको मन्त्री बन्ने सम्भावना ज्यादै छ । ‘स्थायी कमिटी बैठकमा अधिकांशले यो सरकारमा तत्काल सहभागी हुन नहुने धारणा राखेका छन् । तर मुकुन्द न्यौपाने र प्रकाश ज्वालाले भने सरकारमा जानुपर्ने विचार राख्नुभयो,’ती नेताले भने ।

बैठकमा अधिकांश नेताले सरकारमा जान नहुने मत राखेपछि अध्यक्ष माधवकुमार नेपाल भने अलमलमा पर्नुभएको छ । प्रचण्डसँगको पटक-पटकको छलफलपछि विश्वासको मत दिएर सरकारलाई समर्थन गर्ने सोचमा रहनुभएका उहाँ स्थायी कमिटी बैठकपछि अप्ठेरोमा परेको नेताहरुले बताएका छन् ।

टिप्पणीहरू