गौतम निवासमा शेरबहादुर देउवा र प्युठानका माननीयको भेट

गौतम निवासमा शेरबहादुर देउवा र प्युठानका माननीयको भेट

प्युठान प्रदेश ’ख’ का सांसद धनलक्ष्मी श्रेष्ठले पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेकी छन् । काँग्रेसका तर्फबाट प्रदेशको समानुपातिक सांसद रहेकी श्रेष्ठले धुम्बाराही पुगेर सभापति देउवालाई भेटेकी हुन् । 

धुम्बराहीस्थित कुलचन्द्र गौतम निवासमा भएको सो भेटवार्ता हिजो अपराह्न एक घण्टा चलेको काँग्रेस स्रोतले जनाएको छ । छैठौँ पटक प्रधानमन्त्री हुने चाहना पूरा नभएपछि गत बुधबार सरकारी निवास छाड्नुभएका देउवा गौतम निवासमा भाडामा बस्नुभएको छ । 

आफ्नै नेतृत्वको पाँच दलीय गठबन्धन टुटेर बालुवाटारबाट बाहिरिएसँगै फुर्सदिलो हुनुभएका उहाँ अहिले पार्टीका नेता तथा कार्यकर्तासँग संवादमा हुनुहुन्छ । आफूलाई भेट्न आउने नेता, कार्यकर्तालाई सान्त्वना दिँदै उहाँले नआत्तिन सुझाव दिने गर्नुभएको बताइन्छ । गठबन्धन टुट्नुमा प्रधानमन्त्री प्रचण्डको समेत दोष नभएकाले गाली नगर्नसमेत देउवाले कार्यकर्तालाई सम्झाउने गर्नुभएको छ ।

टिप्पणीहरू