सरकारबारे निर्णय गर्न जसपा बैठकमा, ८ एजेण्डामा छलफल
सरकारमा सहभागिताको विषयमा औपचारिक निर्णय गर्न जनता समाजवादी पार्टी (जसपा) को राजनीतिक समितिको बैठक बसेको छ । ललितपुरको बालकुमारीस्थित ज्यापुसमाजको हलमा अहिले बैठक जारी छ ।
बैठकमा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष अशोक राई, संसदीय दलका नेता रामसहाय प्रसाद यादव, पूर्वमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कार्यकारिणी सदस्य विजयकुमार यादव, मधेसका कृषिमन्त्री तथा कार्यकारिणी सदस्य नवल किशोर साह, कार्यकारिणी सदस्य राजकिशोर यादव, प्रकाश अधिकारी, सुशिला श्रेष्ठ, मनिष सुमन, न्हुच्छेलाल महर्जन, राजनीति समिति सदस्य आङकाजी शेर्पा, निर्मला यादवलगायतको उपस्थिति छ ।
बैठकमा पछिल्लो राजनीतिक अवस्था, निर्वाचनको समीक्षा, संगठनात्मक अवस्था, सरकारमा पार्टीको सहभागितालगायत विभिन्न आठ वटा एजेण्डामा छलफल गर्न लागिएको बताइएको छ ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको जसपा हालसम्म सरकार बाहिर छ । जसपामा सरकारमा जाने, नजानेबारे दुईखाले धारणा रहेको बताइन्छ ।
आजको बैठकका एजेण्डाको रुपमा मुलुकको वर्तमान राजनीतिक परिस्थिति र पार्टीको भूमिका, प्रतिनिधिसभा /प्रदेशसभाको निर्वाचनसम्बन्धी समीक्षा, न्यूनतम साझा नीति तथा कार्यक्रम र सरकारमा सहभागिता अघि सारिएको छ ।
त्यसैगरी विभिन्न राजनीतिक दल/संगठनहरुसँग एकता, सहकार्य तथा गठबन्धनसम्बन्धी वार्ताका लागि वार्ता समिति गठन गर्नेलगायत संगठनात्मक कार्यसम्बन्धी प्रस्तावमा क्रियाशील एवम् प्रभावकारी नरहेका पार्टीका विभिन्न समिति/संगठनहरुलाई क्रियाशील बनाउन आवश्यकताअनुसार विघटन/गठन/पुनर्गठन गर्ने, भ्रातृ/जनवर्गीय संगठन, पेशागत संगठन र ट्रेड युनियनगायतका संगठनहरुलाई क्रियाशील तथा सुदृढीकरण गर्नेबारे पनि छलफल हुने बताइएको छ ।
विगतमा सम्पन्न भएका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरुको विरुद्ध उम्मेदवारी दिने, पार्टीभित्र अन्तर्घात गर्ने, निष्क्रिय रहने, असहयोग गर्ने र पार्टीविरुद्ध गतिविधिमा संलग्न हुने वा गतिविधि गर्ने पार्टी पदाधिकारी एवम् सदस्यहरुलाई तत् सम्बन्धित समितिहरुले पार्टी विधानअनुसार कार्यवाही गर्ने विषय पनि आजको एजेण्डा रहेको छ ।
बैठकमा संघीय परिषद् र केन्द्रीय समिति सदस्यहरुको हकमा जाँचबुझ/छानबिन गरी आवश्यक कार्यवाहीको प्रक्रिया अगाडि बढाउन छानबिन समिति गठन गर्ने, पार्टी विधान अधिवेशनको लागि पार्टी विधानको मस्यौदा तयार गर्न विधान मस्यौदा समिति गठन गर्ने र विविध शीर्षकको एजेण्डा प्रस्तुत गरिएको जानकारी दिइएको छ ।
टिप्पणीहरू