पुल निर्माणको अनियमिततामा गाउँपालिका अध्यक्ष मुछिए
स्याङ्जाको कालिगण्डकी गाउँपालिका ४ बिर्घामा निर्माण भएको पुलमा अनियमितता भएको स्थानीयले आरोप लागएका छन् ।
पाँच लाख २२ हजार रुपैयाँको लागतमा बनाइको उक्त पुलमा चारैतिर काठको बार हालेपछि अनियमितताको आशंका गरिएको हो । १० दिनमा पुलको चारैतिर काठको बार हालेर स्थानीयको आँखामा छारो हाल्न खोजिएको भन्दै स्थानीयले विरोध गरेका छन् । उनीहरुले सामाजिक सञ्जालमा पुलको तस्बिर सार्वजनिक गरेर असन्तुष्टि पोखेका छन् ।
जनप्रतिनिधिहरुकै मिलेमतोमा अनियमितता भएकाले भत्काएर अर्को नबनाएसम्म आन्दोलनमा उत्रिने स्थानीको चेतावनी छ । बिर्घाको स्थानीय सरल विश्वकर्माले जनआस्थासँगको कुराकानीमा पुल निर्माणमा जिम्मेवारहरु नै गैरजिम्मेवार बनेको बताए ।
गाउँपालिका प्रमुख खिमबहादुर थापा भने लागतअनुमान अनुसार नै पुल बनाइएको दाबी गर्छन् । आफूहरुले पर्यटन मन्त्रालयमा पहल गरेर बजेट पारेको र पुलमा रङरोगन गरेपछि थप आकर्षक देखिने उनले बताए ।
सोही वडाका अध्यक्ष यादवप्रसाद पाण्डेले आफूले पुल निर्माणको यथार्थ कुरा राख्ने बताउँदै भने, ‘पुलमा २ लाख ४५ हजार रुपैयाँ पर्यटन मन्त्रालयबाट प्राप्त भएको हो । पालिकाबाट कति रकम हालियो त्यो चाँही थाहा भएन ।’
पुल निर्माणको पहल सबैले गरे पनि परिणाम खासै राम्रो नभएको जनगुनासो आएको उनले स्वीकारे । स्थानीयले व्यापक जनगुनासो, पुलको पछिल्लो अवस्थाले सबैलाई अनियमितताको आशंका गर्न बाध्य पारेको बताएका छन् ।
टिप्पणीहरू