जनमत पार्टीले जनप्रतिनिधिको मूल्याङ्कन गर्ने
डा. सीके राउत नेतृत्वको ‘जनमत पार्टी’ ले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुको कार्य मूल्याङ्कन गर्ने भएको छ । अध्यक्ष राउतले विगत ६ महिनाको कार्य मूल्याङ्कन प्रतिवेदन पठाउन पार्टीका सम्बन्धित वडा र पालिका समितिहरुलाई निर्देशन दिएका हुन् ।
समितिलाई परिपत्र गर्दै उनले वडा–पालिकामा निर्वाचित भएका जनप्रतिनिधिहरु (अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडासदस्य) को प्रतिवेदन पठाउन भनेका छन् । जनप्रतिनिधिहरुले पार्टीको अवधारणाअनुसार काम गरे–नगरे हेर्ने परिपत्रमा उल्लेख छ ।
भनिएको छ,‘पार्टीको अवधारणा लागू गर्न के–कस्ता कार्यक्रमहरु सञ्चालनमा ल्याए, जनसरोकारका विषयहरुमा उपलब्धि कस्तो रह्यो, जनमत पार्टीको स्थानीय समिति र कार्यकर्तासंग समन्वय कस्तो रह्यो, जनप्रतिनिधिको काम–कारबाहीप्रति जनता कति सन्तुष्ट छन् र जनप्रतिनिधि जनता र पार्टीप्रति कति जिम्मेवार छन् समेत विवरण प्रतिवेदनमा समावेश गर्नुहुन अनुरोध छ ।’
टिप्पणीहरू