रेशमको रिहाई नभए उन्मुक्तिले सदन चल्न नदिने,सरकार बनाउन सकस
'सुदूरपश्चिम सरकार गठनमा निर्णायक सिट लिएर बसेको नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभा बैठक बिथोल्ने चेतावनी दिएको छ । आज बसेको प्रदेशसभाको पहिलो बैठकमा सो पार्टीका सांसदले जेलमा रहेका रेशम चौधरीको रिहाईको माग गर्दै यस्तो चेतावनी दिएका हुन् ।
प्रदेशसभा सदस्यसमेत रहेका उन्मुक्तिका नेता लक्ष्मणकिशोर चौधरीले प्रदेशसभाको पहिलो बैठकमा शुभकामना दिने क्रममा आफ्ना माग पूरा नभए बैठक अवरुद्ध गर्ने बताए । रेशमको रिहाई नभए माघी (१ माघ) पछि प्रदेशसभा बैठक चल्न नदिने उनको भनाई छ । ‘माघी अगाडि टिकापुर घटनालाई सुल्झाएर जेलमा रहेका नेता-कार्यकर्ताको रिहाई हुनुपर्दछ,त्यसो नभए माघीपछि प्रदेश सभा चल्न दिने छैनौं’, लक्ष्मणले भने ।
थारु आन्दोलन पहिचानका लागि गरिएको र त्यो व्यक्तिगत नभई राजनीतिक भएकाले टिकापुर घटनालाई त्यही रुपमै समाधान गरिनुपर्नेमा उनले जोड दिए । देशमा व्यवस्था परिवर्तनका लागि भएका अन्य राजनीतिक आन्दोलन जस्तै थारुको आन्दोलन पनि आफ्नो पहिचानका लागि गरिएको राजनीतिक आन्दोनन भएको उनको दावी छ ।
प्रदेशसभामा ७ सिट जितेको उन्मुक्ति पार्टी चौथो ठूलो दल हो । सरकार गठनका लागि आवश्यक बहुमत पुर्याउन सत्ता वा प्रतिपक्षी दुवै गठबन्धनलाई उन्मुक्तिको समर्थन आवश्यक हुन्छ । तर,टिकापुर नरसंहारको घटनामा अदालतले दोषी ठहर गरी जेलचलान भएका पार्टीको संरक्षकसमेत रहेका रेशमको रिहाईलाई नागरिक उन्मुक्तिले मुख्य मुद्धा बनाएको छ । उक्त मुद्धा सम्बोधन नहुँदासम्म कुनै पनि गठबन्धनलाई समर्थन नगर्ने सो पार्टीको अडान छ ।
संघमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको सो पार्टी त्यसैलाई शर्त बनाएर सरकारमा गएको छैन । यसअघि रेशमको रिहाईका लागि कानुन संशोधन गर्न अघिल्लो सरकारले ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी नगरेपछि त्यसै रोकिएको थियो ।
टिप्पणीहरू