नेकपा एसनिकट कर्मचारी संगठनको २९ बुँदे निर्णय

नेकपा एसनिकट कर्मचारी संगठनको २९ बुँदे निर्णय

नेकपा एकीकृत समाजवादी पार्टीनिकट एकीकृत सरकारी कर्मचारी संगठनले आगामी फागुन २६ र २७ गते प्रथम राष्ट्रिय अधिवेशन गर्ने भएको छ । 

पार्टी अध्यक्ष माधवकुमार नेपालको प्रमुख उपस्थितिमा नयाँ बानेश्वरस्थित अर्याल होटलमा पत्रकार सम्मेलन गरेर संगठनको तेस्रो केन्द्रीय कार्यसमितिले २९ बुँदे निर्णय गरेको हो । 

संगठनका अध्यक्ष मोहनकुमार घिमिरे, उपाध्यक्ष सिन्धु पाण्डे, महासचिव सरलकुमार गुरुङ्गलगायतको उपस्थितिमा भएको सम्मेलनले प्रथम राष्ट्रिय अधिवेशन फागुन २६ र २७ गते काठमाडौंमा आयोजना गर्ने,सदस्यता वितरण माघ १५ गतेसम्म,जिल्ला, विभागीय,महानगर अधिवेशन फागुन १३ सम्म र प्रदेश अधिवेशन फागुन २० गतेसम्म सम्पन्न गर्ने घोषणा गरेको छ ।

त्यस्तै,संघीय निजामती सेवा ऐन जारी नभई विभिन्न निजामती सेवा ऐन र स्थानीय सेवा सञ्चालन तथा व्यवस्थापन ऐन जारी गरेकोप्रति ध्यानाकर्षण भएको संगठनले जनाएको छ । 

जारी ऐनमा कर्मचारीको वृत्तिविकासलगायतका विषयहरु ट्रेड युनियनसंग पर्याप्त छलफल गरी कर्मचारीमैत्री बनाउन जोडदार मागसमेत गरिएको छ । भ्रष्ट्राचारजन्य कार्यलाई निरुत्साहित पार्दै सेवाप्रवाहलाई उच्च प्राथमिकतामा राखी सबैमा सदाचारको व्यवहार गर्न सम्पूर्ण कर्मचारीहरुलाई संगठनले आह्वान गरेको छ । 

अस्थायी,ज्यालादारी र सेवा करारका कर्मचारीलाई एक पटकलाई उमेरहद नलाग्ने गरी ऐनमा विशेष व्यवस्था गरी स्थायी गर्न र स्थायी हुन नसक्नेको हकमा जीवन निर्वाहको लागि विशेष सुविधा र रोजेको तालिमसहित ससम्मान बिदाइ गरी सरकारी सेवा स्थायी कर्मचारीहरुबाट सञ्चालन गर्ने व्यवस्था गर्न संगठनले भनेको छ । 

सेवाको प्रकृतिअनुसार यथाचित फिल्डभत्ता, जोखिमभत्ता एवम् कार्यसम्पादनमा आधारित भत्ता प्रणाली सबै तह र निकायमा लागु गर्न जोडदार माग गरिएको छ । त्यस्तै,अस्थायी सेवा करारमा कार्यरत (हुलाक सेवामा कार्यरत) समेत कर्मचारीलगायत अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई योगदानका आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराई महँगी भत्ता उपलब्ध गराउनुपर्ने विज्ञप्तिमा उल्लेख छ । 

सरकारी सेवामा कार्यरत कर्मचारीलाई तीनै तहको सेवामा खुल्ला प्रतिस्पर्धाको लागि उमेरको हद नलाग्ने व्यवस्था गरी अन्तर तह प्रतिस्पर्धाको प्रबन्ध मिलाउनुपर्नेलगायतका माग राखिएको छ ।

टिप्पणीहरू