गृहमन्त्रीको निर्देशनपछि सशस्त्र प्रहरीमाथि कडाइ

गृहमन्त्रीको निर्देशनपछि सशस्त्र प्रहरीमाथि कडाइ

सशस्त्र प्रहरी बल, नेपालले सशस्त्र प्रहरीहरु माथि कडाइ गर्ने भएको छ । मुख्य कार्यालयले ‘कुटनीतिक नियोग तथा विभिन्न राजनीतिक नेतृत्वसंग भेटघाटको क्रममा पालना गर्नुपर्ने आचरणसम्बन्धी स्थायी आदेश २०७९’ जारी गरेसंगै सशस्त्र प्रहरीहरुलाई भेटघाट गर्न स्वीकृति लिनुपर्ने भएको हो । 

गृह मन्त्रालयले विभिन्न कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि र राजनीतिक दलका नेताहरुलाई भेट्दा अनिवार्य रुपमा विभागीय स्वीकृति लिन सुरक्षाकर्मीलाई निर्देशन दिएपछि कार्यालयले आदेश जारी गरेको बुझिएको छ । 

योसंगै सशस्त्र प्रहरीले सरकारी प्रयोजनका लागि भेटघाट गर्नुपर्ने भए संगठनको तर्फबाट सम्बन्धित कर्मचारीको नाममा जारी गरिएको रवानापत्र वा तोक आदेशपत्र साथ लैजानुपर्नेछ ।

त्यसैगरी, कुटनीतिक भेटघाटका लागि परराष्ट्र मन्त्रालयबाट जारी गरिएको ‘कुटनीतिक आचारसंहिता, २०६८’ मा उल्लेख भएअनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ । सांगठनिक, व्यक्तिगत भेटघाट तथा सम्पर्कका लागि र विभिन्न सञ्चारमाध्यमलाई सम्पर्क एवम् अन्तरवार्तालाई दुई वटा स्वीकृति निवेदन फारामसमेत जारी गरिएको छ । 

राजपत्राङ्कित अधिकृतहरुले फारमअनुसारको निवेदन आफू कार्यरत कार्यालयबाट सिलसिलेबार रुपमा सशस्त्र प्रहरी महानिरीक्षकबाट स्वीकृत गर्नुपर्ने भएको छ । त्यस्तै, राजपत्र अनाङ्कित कर्मचारीले मानवस्रोत विभाग प्रमुखबाट स्वीकृति लिनुपर्ने आदेशमा उल्लेख छ । 

स्वीकृति लिई गरिएको भेटघाट तथा सम्पर्कको संक्षिप्त विवरणको जानकारी सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा दिनुपर्ने बताइएको छ ।

टिप्पणीहरू