प्राधिकरणले मनोमानी गरेको आइस्पानको आरोप, इन्टरनेट सेवा काटिने चेतावनी
नेपाल विद्युत प्राधिकरणले बिजुलीको पोल भाडामा लगाइएको विषयमा मनोमानी गरेको भन्दै इन्टरनेट सेवा प्रदायकहरुले जुनसुकै समयमा इन्टरनेट सेवा रोकिनसक्ने चेतावनी दिएका छन् ।
इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले आज पत्रकार सम्मेलन गरि सेवा रोक्ने चेतावनी दिएको हो । प्राधिकरणले भाडाकै निहुँमा पटक–पटक इन्टरनेट सेवा प्रदायकहरुको डेटा सेन्टर, अपरेसनल पोइन्ट, इन्टरनेट सेवा प्रवाह गर्ने फाइबर, तार काटिदिएको भन्दै आइस्पानले आक्रोश व्यक्त गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै आईस्पानका अध्यक्ष सुधीर पराजुलीले विद्युत प्राधिकरणले एकाधिकार देखाए आफूहरु इन्टरनेट सेवामा हड्ताल गर्न पनि पछि नपर्ने चेतावनी दिए । इन्टरनेट जुनसुकै बेला अवरुद्ध हुन सक्ने बताउँदै उनले भने, ‘प्राधिकरणले कुनै समन्वयन नगरी इन्टरनेट फाइबर तार देशैभर काटेको छ ।’
प्राधिकरणको दादागरीले हद नाघेको भन्दै उनले अब सहेर नबस्ने बताए । इन्टरनेट सेवा प्रदायकहरुले विजुलीको पोल प्रयोग गरेर आफ्नो सेवा दिँदै आएका छन् । त्यसवापत उनीहरुले प्राधिकरणलाई निश्चित शुल्क तिर्ने गरिएको छ ।
तर, प्राधिकरण र इन्टरनेट सेवा प्रदायकबीच केही वर्षयता विवाद बढ्दो छ । प्राधिकरणले मनोमानी ढंगले पोल भाडा बढाएको आरोप इन्टरनेट सेवा प्रदायकहरुको छ । प्राधिकरणले उनीहरुले समयमा बक्यौता नतिरेकाले लाइन काटिदिने चेतावनी दिएको हो ।
टिप्पणीहरू