काँग्रेस नेताको काठमाडौंका मेयरलाई सुझाव ‘जनताको कुरा सुन्नुपर्छ’
काठमाडौंको खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजना स्थगनको माग गर्दै स्थानीयबासी र संरक्षण अभियान्ताहरुले काठमाडौं महानगरपालिकाका उपमेयर उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
खुलामञ्च जोगाउन र टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन दबावमूलक अभियान चलाइरहेका स्थानीय र संरक्षण अभियन्ताले आज काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका थिए । त्यसपछि मेयर बालेन्द्र साहलाई ज्ञापनपत्र दिने कार्यक्रम राखिए पनि उनले अभियन्तालाई भेट्न अस्वीकार गरेका हुन् । मेयरले भेट्न नमानेपछि उपमेयर डंगोल र प्रशासकीय अधिकृत अधिकारीले उनीहरुको ज्ञापनपत्र बुझेका हुन् ।
ज्ञापनपत्र बुझ्दै उपमेयर डंगोलले सार्वजनिक जग्गा संरक्षण गर्नुपर्ने कुरामा दुई मत नरहेको बताएकी हुन् । उनले लोकतन्त्रमा सबैभन्दामाथि जनता भएको र जनतासँग परामर्शविना कुनै काम महानगरले नगर्ने प्रतिबद्धता पनि जनाइन् ।
यस्तै, ज्ञापनपत्र दिन पुगेका पूर्वमन्त्री तथा काँग्रेस नेता भीमसेनदास प्रधानले टुडिँखेल र खुल्लामञ्च भूमिगत पानीको ‘रिजार्ज सेन्टर’ भएकाले मास्न नहुने बताएका छन् । काठमाडौँको जनभावना नसमेट्ने हो भने मेयर, उपमेयरको केही हैसियत नहुने भन्दै उनले भने, ‘जनताको कुरा सुन्नुपर्छ, बरु अझै नयाँ खुला पार्क बनाउनुपर्छ । टुँडिखेलभित्र कुनैपनि हालतमा पार्किङ हुनुहुदैन ।’
खुलामञ्चमा भूमिगत पार्किङ नबनाउन र त्यसलाई खुला पहुँचमा राख्न माग गर्दै स्थानीयहरु आज महानगरपालिको गेटमा धर्ना दिन पुगेका थिए ।
टिप्पणीहरू