सरकारमा जाने विषयमा समाजवादीले ‘सोच्ने’

सरकारमा जाने विषयमा समाजवादीले ‘सोच्ने’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन सकारात्मक देखिएको नेकपा एकीकृत समाजवादी तत्काल सरकारमा नजाने भएको छ । आज बसेको पोलिटब्युरो बैठकले सरकारमा जान नहुने निष्कर्ष निकालेको हो । 

तर, सरकारबाट प्रस्ताव आए सोच्न सकिने निष्कर्षमा नेताहरू पुगेको बताइएको छ । बैठकमा सरकारमा तत्कालै जानुहुँदैन भन्नेहरूको बहुमत रहेको एक सदस्यले बताए । तर, साँच्चै आवश्यकता महसुस गरेर सरकारमा सहभागी हुन प्रस्ताव आए सोच्नुपर्ने बैठकको निष्कर्ष छ ।

एकीकृत समाजवादीले यसबारे निर्णय लिन शनिबार र आइतबार स्थायी कमिटी सदस्यसँग छलफल गरेको थियो । स्थायी कमिटीका केही सदस्यले सरकारमा जानुपर्ने बताएपनि अधिकांशले औपचारिक प्रस्ताव नआएसम्म छलफल नै गर्न नहुने मत राखेका थिए ।

यसअघि समाजवादीका केही नेताले भने सार्वजनिकरुपमै प्रधानमन्त्रीलाई विश्वासको मत दिएर जानुपर्ने टिप्पणी गरेका थिए ।

तर पार्टी प्रवक्ता तथा उपमहासचिव जगन्नाथ खतिवडाले पार्टी सरकारमा जानेभन्दा सरकारको बारेमा गहन अध्ययन गरिरहेको बताउनुभएको छ । आजको बैठकमा सहभागी सबै सदस्यले आगामी पाँच वर्ष पार्टीलाई मजबुत बनाउनेतर्फ ध्यान दिन नेतृत्वलाई सुझाव दिएका थिए ।

वाम एकताको पक्षमा सबैजना एकमत भएको बताइन्छ । प्रवक्ता खतिवडाले भन्नुभयो, ‘जसपासँग पनि पार्टी एकताको निम्ति छलफलमा छौं । भोलि बिहान ११ बजे पुनः बैठक बसेर सबै विषयमा एउटा निश्कर्ष निकाल्ने छौं ।’
 

टिप्पणीहरू