प्रधानमन्त्रीले निर्देशन दिएकै दिन पासपोर्ट वितरण बन्द
राहदानी विभागले आजदेखि अनिश्चितकालका लागि पासपोर्ट वितरण कार्य बन्द गरेको छ । सिस्टममा समस्या आएको कारण देखाउँदै विभागले अर्को सूचना जारी नहुँदासम्मको लागि राहदानी वितरण कार्य रोकेको हो ।
अस्ति आइतबारदेखि विभागको सिस्टममा समस्या आएको बताउँदै विभागले पासपोर्ट वितरणमा अवरोध भएको जनाएको छ । समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्णरुपमा सूचारु हुन केही समय लाग्ने पनि जानकारी दिइएको छ ।
‘आजको मितिदेखि अर्को सूचना जारी नहुँदासम्मको लागि माथि उल्लेखित सेवा लिनको लागि विभागमा उपस्थित नभइदिनु हुन सादर अनुरोध गर्दछौँ,’ सूचनामा भनिएको छ,‘यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति राहदानी विभाग क्षमाप्रार्थी छ ।’
साथै, नियमित रुपमा राहदानी आवेदनका लागि अपोइन्मेन्ट डेट बुक गरेका सेवाग्राहीहरुलाई बुक गरेको मितिमा बायोमेट्रिकका लागि विभागमा उपस्थित हुन पनि आग्रह गरिएको छ ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारको पहिलो क्याबिनेट बैठकले राहदानी, सवारी चालक अनुमति पत्र, राष्ट्रिय परिचयपत्रमा देखिएका समस्या समाधान गरी चुस्तदुरुस्त सेवा दिने निर्णय गरेको थियो । आजमात्रै प्रधानमन्त्री प्रचण्डले सरकारका सचिवहरुलाई सेवा प्रवाह छरितो र गुणस्तरीय बनाउन निर्देशन दिँदै अन्यथा सम्बन्धित कर्मचारी नेतृत्वलाई कारवाही गर्ने चेतावनी दिनुभएको छ
तर, विभागले भने सिस्टममा समस्या आएको भन्दै राहदानी वितरण कार्य नै अनिश्चितकालका लागि बन्द गरेको जानकारी गराएको छ ।
टिप्पणीहरू