बोर्डरमा समातिएको कालो धुलोको अनुसन्धानमा ढिलाई
गत बुधबार सुरक्षाकर्मीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा तीन ठाउँमा छापा मारेर नियन्त्रणमा लिएको अगरबत्तिमा प्रयोग हुने भनिएको शंकास्पद कालो धुलोमाथिको अनुसन्धान कार्य ढिलो भएको छ । नेपाल–भारत सीमाको दशगजासँग जोडिएको सिराहाको नवराजपुर गाउँपालिका–५ मा पर्ने मेनाहाको दुई स्थान र झाँझपटीबाट उक्त कालो धुलो प्रहरीले नियन्त्रमा लिएर माडर र ठाडी भन्सारमा बुझाएको थियो ।
करिब २७ लाख रूपैयाँ बराबरको बोर्डर छेउबाट नियन्त्रमा लिइएको सो धुलो शंकास्पद देखिएपछि प्रहरीले चेकजाँचको निम्ति जिल्ला वन कार्यालयलाई जिम्मा लगाएको हो । ठाडी भन्सार प्रमुख ध्रुवकुमार कोइरीले उक्त कालोधुलोबारे भनेका थिए, ‘हेर्दा अगरबत्तीमा प्रयोग हुने मसला जस्तो देखिन्छ, बमबारूदमा प्रयोग हुने पो हो कि १’
सशस्त्र प्रहरी बल सिराहाका एसपी रमेश थापाका अनुसार नवराजपुर ५ स्थित सञ्जय महतो, विनोदकुमार यादव र शिवनारायण यादवको घरबाट उक्त कालो धुलो प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त वस्तुसँगै कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्रेर अनुसन्धान गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी अर्जुन तिमल्सिनाले पनि उक्त धुलो चेकजाँचका लागि जिल्ला वन कार्यालयमा पठाएको बताए । यता जिल्ला वन कार्यालय सिराहाका प्रमुख शैलेन्द्र कुमार मिश्रले कालो धुलो ल्याब परीक्षणका लागि काठमाडौंस्थित राष्ट्यि विधि विज्ञान प्रयोगशालामा पठाइएको जानकारी दिए । उनले भने, ‘पहिला त्यो धुलो ल्याब टेष्टका लागि प्रयागशालाको मधेश प्रदेश कार्यालय बर्दिबास पठाइयो । त्यहाँ पनि ल्याब नभएकाले काठमाडौं पठाएका छौँ । हप्ता १० दिननमा रिपोर्ट आउँछ होला ।’
तर धुलोको कारोबारमा संलग्न सबैले विराटनगरबाट खरिद गरेर ल्याइएको बताएका छन् । विनोद कुमार यादवको घरबाट नियन्त्रणमा लिइएको कालो धुलो बिराटनगर ११ को सन्ध्या ट्रेड लिंकबाट खरिद गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तर, ल्याब टेष्ट नगरी यकिन गर्न नसकिने प्रहरी प्रशासनको भनाइ छ ।
– सन्तोष बराइली
टिप्पणीहरू