बूढानीलकण्ठमा पाठेघर क्यान्सर रोगको निःशुल्क परीक्षण
काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाले पाठेघरको मुखमा हुने क्यान्सर रोगको निःशुल्क परीक्षण शिविर सञ्चालन गर्ने भएको छ । धुलिखेल अस्पतालको सहयोगमा पुस २४ देखि २९ गतेसम्मका लागि नगरपालिकाले शिविर आयोजनाको घोषणा गरेको छ ।
नगरपालिकाको वडा नम्बर १२ स्थित स्वास्थ्य संस्थानमा सञ्चालन हुने शिविर बिहान साढे ९ देखि अपरान्ह ३ बजेसम्म चल्ने छ । शिविरमा भिआईए परीक्षणद्वारा पाठेघरको मुखमा हुने क्यान्सरको जाँच गर्ने र परीक्षण पोजेटिभ देखिएमा तुरुन्तै निःशुल्क उपचार गरिने जनाइएको छ ।
त्यस्तै, शंकास्पद अवस्था देखिएमा अस्पतालमा रिफर गरी बायोप्सी÷प्याप स्मियरजस्ता परीक्षण निःशुल्क गरिने र भिआईए परीक्षण पोजेटिभ देखिएमा स्त्री रोग विशेषज्ञद्वारा परामर्श दिइने पनि नगरपालिकाले बताएको छ ।
पाठेघरको मुखको परीक्षण गर्दा महिनावारी रोकिएको हुनुपर्ने, भित्री यौनाङ्ग नपखालेको हुनुपर्ने, यौनसम्पर्क नराखेको हुनुपर्ने र यौनाङ्गमा कुनै प्रकारको क्रिम वा जेल प्रयोग नगरेको हुनुपर्ने भन्दै नगरपालिकाले सोहीअनुसार आउन आग्रह गरेको छ । साथै, बिबाह भएका र ३० देखि ६० वर्ष उमेरका महिलालाई नियमित अन्तरालमा पाठेघरको क्यान्सरको जाँच गराउन पनि नगरपालिकाको अनुरोध गरेको छ ।
टिप्पणीहरू